Logo

कोशीका मुख्यमन्त्री कार्की र एमालेबीच ‘फाइनल मिटिङ’ हुँदै



काठमाडौं,१७ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र नेकपा एमाले कोशी प्रदेशबीच आज निर्णायक छलफल हुने भएको छ ।

एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की विश्वासको मत लिएको ३ साता हुनलाग्दा पनि सरकार विस्तार गर्ने कसरतमा छन् । तर उनले हालसम्म सरकरा विस्तार गर्न भने सकेका छैनन् । असोज २६ गते मुख्यमन्त्री बनेपछि एमालेका रान राना र कांग्रेसका शमशेर राईलाई बिना विभागीय मन्त्री नियुक्त गरेका कार्कीले जिम्मेवारी समेत दिन सकेका छैनन् । मुख्यमन्त्री कार्कीको पछिल्लो कदमप्रति सत्ता साझेदार दल नेकपा एमालेले तीव्र असन्तुष्टि जनाउँदै आएको छ ।

एमालेको सहयोगमा मुख्यमन्त्री बनेपनि कार्कीलाई राप्रपा बाहेक सबै दलले विश्वासको मत दिएका छन् भने वर्तमान प्रदेश सरकार केन्द्रीय गठबन्धनकै बटमलाई अनुसारको भएको दाबी गर्दै आएका छन् । कार्कीलाई विश्वासको मत दिएको माओवादी केन्द्र, नेकपा एस र कांग्रेसको संस्थापन पक्षले भने एमालेलाई सरकारबाट हटाएर केन्द्रीय गठबन्धनअनुसारको सरकार विस्तार गर्न दबाब दिँदै आएका छन् ।

आज बिहान एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीसँग काँग्रेसका केही नेताहरूले विराटनगरमै छलफल गरेका थिए । उक्त छलफलका क्रममा पनि कांग्रेस नेताहरूले एमाले नेता कार्कीलाई सहमतिको सरकार बनाऊँ भन्ने प्रस्ताव गरेका थिए । कार्कीले भने माओवादी र एकीकृत समाजवादी सरकारमा सहभागी भए आफूहरू सरकारबाट बाहिरिने अडान राखेको स्रोतको दाबी छ ।

कांग्रेस संसदीय दलका नेता तथा प्रदेश सभापति उद्धव थापा भने काठमाडौँमा रहेका कारण उनी आएपछि पुनः आजै साँझ अर्को छलफल गरेर निष्कर्ष निकाल्ने दुवै दलको तयारी छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेसका नेता कार्की गत असोज २७ गते एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले शपथग्रहण गरेकै दिन एमालेबाट रामबहादुर राना मगर र कांग्रेसबाट शमशेर राईलाई मन्त्री नियुक्त गरेका छन् । तर, उनीहरुले जिम्मेवारी भने अझै पाएका छैनन्



प्रतिक्रिया दिनुहोस्