Logo

भारतमा सवारी दुर्घटनामा परेर एकै परिवारका पाँच नेपालीको मृत्यु



काठमाडौं,१७ कार्तिक । भारतमा सवारी दुर्घटना हुँदा एकै परिवारका पाँच जना नेपालीको ज्यान गएको छ ।

रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरको तलका भन्ने ठाउँमा सवारी दुर्घटनामा परी एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको हो ।

बिरामी भेटेर फर्किने क्रममा उनीहरूको दुर्घटनामा परी ज्यान गएको सुर्खेतको चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धनीराम धमलाले जानकारी दिएका छन् । मृतक पाँचैजना चौकुने गाउँपालिका वडा नम्बर ७ का बासिन्दा रहेको वडाध्यक्ष धमलाले बताए ।

मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, उनका छोरा ५ वर्षीय मिलन नेवार, अर्का छोरा २ वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन् ।

गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गए राति उनीहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका–७ का वडाध्यक्ष धमलाले जानकारी दिए ।

धमलाका अनुसार मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचाररत थिए । उनीहरू सपरिवार बिरामीलाई अस्पतालमा भेट्न गएका थिए । भेटेर फर्किने बेलामा ट्रकले ठक्कर दिइएको बताइएको छ । मृतकको पोष्टमार्टम भइसकेको र दाहसंस्कार पनि भारतमै हुने धमलाले बताए । यसैबीच घटनाको दोषीलाई कारबाहीको माग गर्दै वडा कार्यालयले विज्ञप्ति जारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्