काठमाडौं, १८ कात्तिक । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर हिजो राति गएको भूकम्पमा परी जाजरकोटमा मात्र ८६ जनाको मृत्यु पुष्टि भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले मृतकको संख्या एक सय नाघ्न सक्ने बताए ।
‘जाजरकोटमा भूकम्पबाट भेरी नगरपालिका, नलगाड, कुशे र बारेकोट गरी चारवटा पालिकामा जनधनको ठूलो क्षति भएको छ । अन्य पालिकामा पनि आंशिक क्षति भएका सूचना आएका छन् । अहिलेसम्म नलगाडकी उपमेयर सरिता सिंह लगायत ८६ जनाको मृत्यु भएको छ । यो संख्या अझै बढ्ने देखिन्छ । एक सयको आसपास हुन सक्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा सुनारले भने ।
भूकम्पमा परी सयौं संख्या घाइते भएको र गम्भीर प्रकृतिका आठ घाइतेलाई प्रादेशिक अस्पताल सुर्खेत पठाएको पनि उनले बताए । उनले भने, ‘जिल्लाको स्वास्थ्य जनशक्ति सबै परिचालित छन् । तैपनि घाइतेको संख्या धेरै भएकाले स्वास्थ्यकर्मीको अभाव छ । हामी प्रदेश र संघसँग समन्वय गरेर थप स्वास्थ्यकर्मी परिचालन गर्ने वातावरण बनाइरहेका छौं ।’
अहिले आफू उद्धार र उपचारमा प्राथमिकता दिएर लागिरहेको पनि उनले बताए । जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको छलफलमा जाजरकोटमात्र दुई हजारको आसपासमा घर भत्केको अनुमान छ । उनले भने, ‘प्रजिअकै क्वाटर भत्केको छ । हाम्रै प्रहरी साथीहरु घाइते हुनुभएको छ । जनप्रतिनिधिको मृत्यु भएको छ । सर्वसाधारण प्रभावित छन् ।’
जाजरकोटका डीएसपी सन्तोष रोकायाले मृतक र घाइतेको खोजी कार्य जारी रहेको बताए । कच्ची घरहरु पूर्ण रुपमा क्षति भएको पाइएको, घर भत्केर च्यापिएका र भाग्ने क्रममा सयभन्दा बढी घाइतेको उपचार चलिरहेको उनले सुनाए । नेपाली प्रहरी, सेना र सशस्त्र प्रहरीको टोली सदरमुकाम लगायत प्रभावित क्षेत्रमा खटिएको उनले बताए ।
जिल्ला अस्पताल जाजरकोटमा रहेका पत्रकार राजेन्द्र कार्कीका अनुसार भूकम्पका घाइतेहरुलाई बेड नपुगेर भुइँमा उपचार भइरहेको छ । घटना राति भएको, पहिरोले बाटो अवरोध भएकाले उद्धारमा कठिनाइ भएको छ । सडकमा ढुंगा खसेकाले उद्धारमा हेलिकप्टरको विकल्प छैन । पुराना र ढुंगाको छाना भएका घरहरु कच्याककुचुक भएको पनि कार्कीले बताए । जिल्लाका धेरैजसो घर चर्केको पनि उनले बताए ।