काठमाडौं, १८ कार्तिक । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले जाजरकोट र पश्चिम रुकुममा हिजो राति गएको भूकम्पको कारण भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले भूकम्पमा परेकाहरुको खोजी तथा उद्धार र उपचारको लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
उनले सबै दल, विभिन्न सामाजिक संघ/संस्थाहरु मिलेर यस विपत्तिको सामना गर्नुपर्ने उल्लेख गर्दै उद्धार र राहतमा लाग्न सबैलाई अपिल गरेका छन् । मन्त्री महतोले सामाजिक सञ्जालमार्फत भनेका छन्-
जाजरकोटको बारिकोट गाउँपालिका–०१ रामीडाँडा केन्द्रबिन्दु बनाएर हिजो (शुक्रबार) राति ११ः५० बजे गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा भएको मानवीय र भौतिक क्षतिले मर्माहत तुल्याएको छ । भूकम्पमा परी ज्यान गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । सरकार घाइतेहरुको उद्धार र उपचारमा खटिएको छ। नेपाली सेनाको परिचालित फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार कार्यलाई निरन्तर जारी राखेको छ । सबै राजनीतिक दल, विभिन्न संघ तथा संस्थालाई उद्धार कार्यमा खटिनको लागि अनुरोध गर्दछु । सबै एक भएर विपत्तिको सामना गरौं । नेपाल सरकार तत्काल उद्धार, राहत र पुनस्थार्पनाको लागि पूर्ण प्रतिबद्ध छ ।
डा. वीरेन्द्र प्रसाद महतो
मन्त्री, वन तथा वातावरण मन्त्रालय