काठमाडौं, १८ कार्तिक । बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
हिजो (शुक्रबार) राति गएको भूकम्पपछिको उद्धार, राहत, उपचार र पुर्स्थापनामा खर्च गर्ने गरी बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।
सामाजिक सञ्जालमार्फत बुद्ध एयरले यस्तो सहयोग गर्ने घोषणा गरेको हो ।
उसले भनेको छ-
जाजरकोट तथा पश्चिम रुकुममा आएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहिन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ । हामी बुध्द एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. 1 करोड सहयोग दिने निर्णय गरेका छौं । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनवद्ध छौं ।