Logo

भूकम्पपीडितलाई भोकभोकै र चिसोमा कठ्यांग्रिएर मर्ने स्थिति आउन दिँदैनौं : ऊर्जामन्त्री बस्नेत



काठमाडौं, १९ कात्तिक । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले आज बिहान बस्ने मन्त्रिपरिषद्को बैठकबाट जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका निम्ति ठोस कार्ययोजना घोषणा गर्ने बताएका छन् ।
‘अहिले बिहान क्याबिनेट बस्दै छ । विपद् व्यवस्थापन प्राधिकरणको बैठक पनि बस्दैछ । दुई जिल्लामा झन्डै ६ हजार घर भत्केका छन् । त्यसको निम्ति सरकारले ठोस कार्ययोजना ल्याउँछ । भूकम्पपीडितका निम्ति हिउँदको चिसोमा अस्थायी व्यवस्थापन हुने र वर्षायाम सुरु हुनु पहिले सुरक्षित आवासमा बस्न पाउने विश्वास म दिलाउन चाहन्छु,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
मन्त्री बस्नेतले दुःख र पीडालाई ताकतामा बदलेर भावी पिँढीका निम्ति केही नयाँ काम गर्ने अवसर मिलेको पनि बताए । उनले भने, ‘जाजरकोटमा १०५ र रुकुमपश्चिममा ५२ जनाको मानवीय क्षति भएको छ । यसले सिंगो राष्ट्र नै संवेदित छ । चिसो मौसम भएकाले घरबासविहीनलाई हामी आजबाट हामी त्रिपाल, कम्मल र खाद्यान्न वितरणको काम गर्छौं । सरकार सबै पीडित परिवारका निम्ति केही न केही लिएर जान्छ । भोकभोकै र चिसोमा कठ्यांग्रिएर मर्ने परिस्थिति आउन दिँदैनौं ।’ राहत एकद्वार प्रणालीबाट समानुपातिक र न्यायोचित रुपमा वितरण हुने पनि उनले बताए ।
साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सबैको साथ लिएर जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडित घाइतेको उद्धार र उपचारको व्यवस्थापन राम्ररी गरेको पनि बताए । सबै घाइतेहरु सकुशल घर फर्कने विश्वास व्यक्त गर्दै उनले भूकम्पपीडितका निम्ति चासो र ऐक्यबद्धता देखाउने सबैलाई धन्यवाद पनि दिए ।



प्रतिक्रिया दिनुहोस्