Logo

भूकम्पको दुःख र पीडामा एमाले जनता र सरकारको साथमा छ : आचार्य



काठमाडौं, १९ कात्तिक । नेकपा एमालेका नेता निरज आचार्यले सरकारले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका निम्ति अविलम्ब राहत प्याकेजको घोषणा गर्न माग गरेका छन् ।
‘अस्ति मध्यरातिको भूकम्पमा परी जाजरकोटमा १०५ जनाको मृत्यु भयो । १०६ जना घाइते भए । तिनको विभिन्न ठाउँमा उपचार चलिरहेको छ । एक चरणको उद्धारको सकिए पनि कतिपय ठाउँको अवस्था अज्ञात छ । टेलिफोन सम्पर्क हुन सकेको छैन । ढुंगामाटोका कच्ची घर कुनै पनि सद्दे छैनन् । भूकम्पपीडितले खुला आकाशमुनि आगो तापेर बस्नुपरेको छ । त्रिपाल समेत पुर् याउन सकिएको छैन । अब खाद्यान्न र स्वास्थ्यको संकटलाई मध्यनजर गरेर सरकारले अविलम्ब राहत र घर बनाउनका लागि प्याकेजको घोषणा गर्नुपर्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
भूकम्पका कारण सिर्जित दुःख र पीडामा आफ्नो पार्टी जनता र सरकारको साथमा रहेको र यसलाई राजनीतीकरण नगरेको पनि आचार्यले बताए । उनले भने, ‘एमालेको राजनीति भनेको जनताको सेवा हो । एमाले यस दुःख र पीडामा जनता र सरकारको साथमा छ । हामी बिना बर्दीको स्वयंसेवकका रुपमा उद्धारमा खटिएका छौं । यसलाई राजनीतीकरण गर्नुपर्ने जरुरी ठान्दैनौं । तर सरकार र गठबन्धनका तर्फबाट राहत र सुविधामा आफ्ना निकटको मात्र पक्षपोषण भए एमाले चुपचाप बस्दैन ।’ भूकम्पपीडितले ६ महिनाभित्र पक्की छानोभित्र बस्न पाउनुपर्ने पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्