काठमाडौं, १९ कात्तिक । जाजरकोटको भेरी नगरपालिकाका मेयर सीपी घर्तीले आफ्नो नगरमा खुला क्षेत्रको अभाव भएको बताएका छन् ।
‘भूकम्पका कारण भेरी नगरपालिकाका वडा नं १, ३ र ४ अत्यन्त प्रभावित छन् । भेरी नगरपालिकाभित्र ४२ जनाको मृत्यु भइसकेको छ । परकम्प आइरहेका छन् । चर्केको घरभित्र बस्ने स्थिति छैन । परकम्पको डरले सबै जना बाहिरै सुतेका छन् । म पनि बाहिर सुतेको छु । भूकम्पपीडित त्रिभुवन मावि र बसपार्कमा प्रांगणमा छन् । नगरपालिकाभित्र खुलाक्षेत्रको अभाव महसुस भएको छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
मेयर घर्तीले भूकम्पपीडितलाई कसरी राहत उपलब्ध गराउने भन्ने कुरा चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘माटोले बनेका शतप्रतिशत घर चर्केका छन् । भूकम्पपीडितले खाद्यान्न र भाँडाकुँडा समेत निकाल्न सकेका छैनन् । हामी एकद्वार प्रणालीबाट एकमुष्ट राहत संकलन गरेर वितरण गर्न लागिपरेका छौं । कम्बल, त्रिपाल र खाद्यान्नका निम्ति प्रदेश सरकारलाई आह्वान गरेका छौं ।’ अब भवन आचारसंहिता बमोजिम भूकम्प प्रतिरोधी घर बनाउन पहल हुने पनि घर्तीले बताए ।
यसैबीच, जिल्ला समन्वय समिति जाजरकोटका सभापति कालीबहादुर खत्रीले भूकम्पपछि स्थानीय तहहरुले मिलेर काम गरिरहेको बताएका छन् । उनले भने, ‘जाजरकोटमा मात्र १०५ जनाको मृत्यु भएको छ । हामीले कुन कुन पालिकाका कुन कुन वडामा कति क्षति भएको छ ? त्यसको अनुगमन गरिरहेका छौं । हिजो रातिबाट संघीय, प्रदेश सरकारबाट राहत आउन थालेको छ । आजबाट ओढ्ने, ओछ्याउने र खाद्यान्न पुर् याउने काम हुन्छ । त्यो सबै पीडितकहाँ पुग्छ ।’ भूकम्प प्रभावित क्षेत्रमा महामारी नफैलियोस् भनेर आफूहरु सचेत रहेको पनि खत्रीले बताए ।