Logo

जनशक्ति नहुँदा बाली भित्राउन समस्या



ढोरपाटन (बागलुङ), १९ । यति बेला खेतभरीमा धान झुलेका छन् । बारीभरी कोदो फलेका छन् । गाउँघरमा पहिलेको जस्तो चहलपहल नहुँदा अर्मपर्म गर्ने जनशक्ति अभावले बाली भित्राउन समस्या भइरहेको छ ।

कामको निकै चटारो हुने यो समय कामदार पाउन मुस्किल छ । धेरैको रोजाइ विदेश र सहरबजार बनेपछि हिजोआज बाली लगाउन र स्याहार्न किसानलाई हम्मेहम्मे पर्छ । बागलुङका ग्रामीण क्षेत्रमा पछिल्लो आधा दशकयता विदेश जानेको सङ्ख्या बढ्दै गएपछि खेतबारीमा काम गर्ने पाइन मुस्किलपर्ने गरेको स्थानीयवासी रनबहादुर क्षेत्रीले बताए । उनका अनुसार कुनै बेला युवाले गाउँ भरिने गरेकामा आजभोलि सुनसान जस्तै बन्दै गएका छन् ।

धान र कोदो भित्र्याउने यो समयमा कामदारको अभाव भएको छ । काम गर्न मान्छे थोरै हुँदा समयमै बाली स्याहार्न नपाएको किसानको गुनासो छ । जिल्लाको गलकोट नगरपालिकामा अझ बढी कामदार नपाइने समस्या छ । यहाँका प्रत्येक घरका कम्तीमा एकजना सदस्य जापान, कोरिया, अमेरिकालगायत देशमा रोजगारका लागि पुगेका छन् । गाउँमा भएका खेतीयोग्य जमिनसमेत बाँझिदै गएका छन् ।

पहिले गाउँमा वरपरका छिमेकीसँग काम गर्दा रमाइलोसँगै समयमै बाली भित्र्याउने गरेको भन्दै अहिले काम गर्ने मान्छे नपाइँदा ढिला हुने गरेको क्षेत्रीले बताए । आजभोलि पहिलेको भन्दा निकै कम क्षेत्रमा खेती हुने गरेको सुनाउँदै उनले गाउँमा मान्छे कम हुँदै गएपछि उत्पादन पनि घट्दै गएको बताए ।

एकदशक अगाडिसम्म गैरी खेत र पाखोबारी सबैमा खेती हुने गरे पनि अहिले पाखाबारी सबै झाडीमा परिणत हुँदै गएका क्षेत्रीको भनाइ थियो । यही गतिमा गाउँ छाड्नेको सङ्ख्या बढ्दै गए अबको केही वर्षमा गाउँ रित्तै हुने र खेतबारीमा वनमारा पलाउने उनले बताए । सरकारले युवालाई गाउँमै रोक्न सके उत्पादन वृद्धि हुने र आत्मनिर्भर बन्न सकिने उनले बताए ।

“आजभोलिका युवा १५र१६ वर्षमै विदेश जाने सपना देख्छन् र सहरबजार तथा विदेश जान्छन् । गाउँ त रित्तो हुन थालेका छन्”, क्षेत्रीले भने, “पहिले गाउँमा धेरै मान्छे हुन्थे । असोज÷कात्तिक लाग्ने वित्तिकै धान, कोदो भित्र्याउन, बारीको खर काटेर ल्याउने गरिन्थ्यो । बारीमा उत्पादन भएको बालीले वर्षभरी खान पुग्थ्यो ।”

स्थानीय प्रेमबहादुर पुनले काम गर्ने मान्छे घट्दै गएपछि आफूले थोरै खेतबारीमा मात्रै खेती गरिरहेको बताए । पहिले एकै परिवारमा १० जनासम्म काम गर्ने हुने गरेको स्मरण गर्दै उनले अचेल गाउँभरी पनि दश जना काम गर्ने मान्छे नपाइने बताए ।

गाउँमा कोहीलाई साह्रो गाह्रो पर्‍यो भने उद्धार गर्ने मान्छेसमेत नहुने स्थिति आउन थालेको पुनले बताए । गाउँमा थुप्रै सम्भावना हुँदाहुँदै पनि बढी महत्वकांक्षी हुँदा युवा विदेश छिरेको उनको भनाइ थियो ।

“हाम्रो सुनसान बन्दै गएपछि काम गर्ने मान्छे पाइन छोड्यो । दसौँ वर्ष पहिले सयौँ मुरी धान फल्ने खेतमा अहिले धौधौले २० मुरी फलाउन सकिदैन”, पुनले भने, “खेती गर्ने ठाउँ घट्यो । मान्छेहरु पनि बसाइँसराइ गरी बजार झरे । धेरै युवाहरु विदेश गए । अहिले गाउँमा बुढाबुढी र केटाकेटी मात्रै छन् ।” रासस



प्रतिक्रिया दिनुहोस्