Logo

राउटेका महामुखिया शाहीको निधन, नयाँ मुखिया ४५ दिनभित्र चयन गरिने



काठमाडौं,१९ कार्तिक । लोपोन्मुख फिरन्ते जातीको रूपमा रहेको राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको निधन भएको छ ।

दैलेखको गुराँस गाउँपालिकाले प्रदान गरेको परिचय पत्रमा ९ भदौ २०१४ जन्ममिति भएका शाहीको आज बिहान ६६ वर्षकाे उमेरमा शाहीको निधन भएको हो ।

शाहीको राउटे परम्परा अनुसार अन्तिम दाहसंस्कारसमेत गरिएको छ । महामुखिया शाहीकी पत्नी दुनी शाही र दुई बुहारीहरू सुरमान र सुन्दरी शाही रहेका छन् । महामुखिया शाहीका छोरा नारायण शाहीको केही समयअघि आगोमा जलेर निधन भएको थियो ।

फिरन्ते जीवनयापन गर्दै आएका उनीहरूको हाल भैरवी गाउँपालिका–३ छामघाट खोला नजिकै बसोबास छ । उनीहरू पाँच दिन अघिमात्रै बसाइ सरेका थिए ।

यसैबीच महामुखिया शाहीको निधन भएपछि रिक्त रहेको उक्त पदमा ४५ दिनभित्र नयाँ महामुखिया नियुक्त हुने बताईएको छ । राउटे समूदायमा कुनै एक व्यक्तिको निधन भएमा हाल बसिरहेको ठाउँ छोड्ने प्रचलन रहि आएको छ । नेपालको जनगणना २०६८ मा ६१८ जना जनसँख्या रहेको राउटेहरु हाल करिव १५० को हाराहारीमा रहेको विभिन्न सर्वेक्षणले देखाएका छन् ।



प्रतिक्रिया दिनुहोस्