Logo

जाजरकोटका भूकम्पपीडितलाई राहतको अभाव कि वितरणमा समस्या ?



काठमाडौं, २० कात्तिक । प्रायःको घर छैन । भएकाको पनि धराप छ । अहिले नै जान्छ कि भरे जान्छ जस्तो छ । कात्तिक १७ मध्यरातको भूकम्पबाट चर्केको घर अनि बारम्बारको धक्काका कारण जाजरकोटको भेरी नगरपालिकाकी राममाया खड्का तीन दिनसम्म सुत्न सकिनन् । घरबाहिरै बसिन् ।
हिजो सशस्त्र प्रहरीले स्थानीय त्रिभुवन माध्यमिक विद्यालयमा भूकम्पपीडितका निम्ति बस्ने व्यवस्था मिलाएको थाहा पाएपछि आइन् । सोमबार बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भनिन्, ‘सबै जना राहत राहत भनिरहेका छन् । तर हामीले पाएका छैनौं । भूकम्प आएको चार दिन भैसक्यो । कोही जनप्रतिनिधि कहाँनेर बस्नुभएको छ, के कसो छ भनेर सोध्न आएनन् । खाने बस्ने टुंगो छैन । चिसो बढेको छ । डरत्रास बढेको छ । मलाई यहाँ व्यवस्था छ भन्ने पनि थाहा थिएन । तीन दिनपछि बल्ल छानामुनि सुत्न पाएँ ।’
जाजरकोटमा स्थानीय सरकारका साथै विभिन्न सामाजिक संघसंस्था राहत वितरणमा लागेका छन् । तर सबै भूकम्पपीडितले राहत पाइसकेका छैनन् । नेपाल रेडक्रस सोसाइटी, जाजरकोटका सभापति हरिबहादुर बस्नेत भने जिल्ला विपद् व्यवस्थापन समितको निर्णय अनुसार एकद्वार प्रणालबाट राहत विरण गर्न सबै पालिकामा पठाइसकेको बताउँछन् । उनले भने, ‘भूकम्पबाट जाजरकोटका सातवटै पालिका प्रभावित छन् । उद्धार र उपचारको काम सकिएकाले अब राहत वितरण सुचारु हुन्छ । विकट क्षेत्र छ । बस्ती छरपस्ट छन् । सदरमुकामबाट पालिकासम्म पठाउन ढुवानीको समस्याले ढिलो भएको हो । अन्यथा केही होइन ।’

भूकम्प र बर्खाका कारण कतिपय बाटोघाटो मर्मत गरेर लैजानुपर्ने भएकाले राहत वितरणमा ढिलाइ भएको बस्नेतले स्विकारे । उनले भने, ‘आएको राहत गोदाममा थन्किएको छैन । सबै पालिकामा राहत पठाएका छौं । पालिकाबाट वडाध्यक्षहरुले बुझेर वितवरण गर्दै हुनुहुन्छ । जहाँ माग छ, त्यहाँ यथाशीघ्र पठाएका छौं । ‘
अब आउने सहयोगमा न्यानो कपडामा जोड दिने पनि सभापति बस्नेतले बताए । उनले भने, ‘अहिले हामीले न्यानो कपडाभन्दा पनि त्रिपाल, कम्बलमा जोड दिएका छौं । अब बालबच्चालाई न्यानो कपडाको व्यवस्था गर्न अनुरोध गरेका छौं ।’ जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच करोड जम्मा भइसकेको पनि उनले बताए ।
छेदागाड नगरपालिकाका प्रमुख मेयर रत्नबहादुर खड्काले पालिकाले विभिन्न संघसंस्थाले दिएको राहत सामग्री सबै वडाका टोलटोलमा पुर् याउने कार्य जारी रहेको बताए । उनले भने, ‘हिजो लगभग सबै वडामा पुगिसकेको छ । आज सबै ठाउँमा पुग्छ । आज हामी आफैं गएर सबैलाई निष्पक्ष ढंगले वितरण गर्छौं । त्रिपाल, कम्मल र न्यानो कपडामा मनपरी गरेका छैनौं । एकद्वार प्रणालीबाट काम गरेका छौं । आजबाट तपाईंले जनताको रोदन सुन्न पाउनुहुन्न ।’
छेदागाड नगरपालिकामा एक पुरुष र दुई महिला मृत्यु भएको तथा चार जना घाइतेको उपचार चलिरहेको उनले बताए । खड्काका अनुसार नगरपालिकाभित्र ३२३ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने १३ सय घरमा आंशिक क्षति भएको छ । बढीमा वर्षदिनभित्र भूकम्पपीडितले स्थायी घरभित्र बस्न पाउने पनि मेयर खड्काले बताए ।



प्रतिक्रिया दिनुहोस्