Logo

कोशी सरकारमा राप्रपा सहभागी नहुने



काठमाडौं, २० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवल शमशेर जबराले आफूहरु कोशी प्रदेश सरकारमा सहभागी नहुने बताएका छन् ।

हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरु संघीयता विरोधी शक्ति भएकाले कोशीको मध्यावधिलाई लिएर कुनै चिन्ता नरहेको बताएका हुन् । संघीयताले देश खोक्रो भएको उनले टिप्पणी गरे । देशलाई गणतन्त्र र संघीता नफापेको उनको टिप्पणी छ ।

‘हामी सरकारमा जाँदैनौं । यो सरकारमा हामी कुनै पनि हालतमा जाँदैनौं । कोशीमा पनि गएनौं । हामी संघीयता विरोधी हौं, हामी सरकारमा जान हुँदैन भन्ने मेरो सोच हो । पार्टीमा अहिलेसम्म पनि त्यही छ ।’ उनले भने, ‘हामीले किन रोक्न पर्यो मध्यावधि ? हामीले किन बचाउन पर्यो सरकार ?..गणतन्त्र र संघीयता देशको लागि फापेन, सुहाएन । यसलाई विघटन गरेर राजासहितको प्रजातन्त्र, हिन्दु राष्ट्र ल्याउन पर्छ भन्ने हामीलाई धेरै चिन्ता छैन ।’

कोशी प्रदेशमा नेकपा (एमाले) सरकारबाट बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता दिने तयारी गरेको छ । अब कोशी प्रदेशमा मध्यावधि टार्ने अन्तिम विकल्पको रुपमा राप्रपा देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्