काठमाडौं,२० कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटको अन्तिम चरणको खेलमा यूएईलाई पन्छाउँदै नेपाल सन् २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।
शुक्रबार मूलपानी मैदानमा भएको खेलमा नेपालले यूएईलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै एक दशकपछि टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।
नेपाल सन् २०१४ मा बंगलादेशले आयोजना गरेको टी-२० विश्वकपमा पहिलोपटक छनोट भएको थियो । त्यसयता लामो संघर्षपछि विश्वकपमा छनोट भएको हो । नेपालले विश्वकप छनोट खेल्नुअघि नेपाली खेलाडीलाई हौसला प्रदान गर्न यती व्रूअरीको उत्पादन अर्ना बियरले नगदसहितको पुरस्कार योजना घोषणा गरेको थियो । जसमा प्रत्येक रनदेखि चौका र विकेट लिनेदेखि क्याच समात्नेसम्मलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो । अर्नाले समूहचरणको खेलमा खेलाडी केन्द्रीत र सेमिफाइनल तथा फाइनल खेलमा टिम मेम्बर र कोचका साथै सपोर्टिंग स्टाफ़लाई समेत प्रायोजन गरेको थियो ।
अर्नाले समूह चरण र सेमिफाइनल तथा फाइनलमा गरेर कूल ४१ लाख ७६ हजार खर्च गरेको विवरण सार्वजनिक गरेको छ । उसले समूह चरणका तीन खेलहरु ओमान, मलेसिया र सिंगापुरविरुद्धको खेलमा २२ लाख ९९ हजार खर्च भएको जनाएको छ । जसमा सिंगापुरविरुद्धको खेलमा ६ लाख ६४ हजार, ओमानविरुद्धको खेलमा ७ लाख ९१ हजार र मलेसियाविरुद्धको खेलमा ८ लाख ४४ हजार गरेर कूल २२ लाख ९९ हजार खर्च भएको हिसाव सार्वजनिक गरेको छ ।
अर्नाले यूएईविरुद्धको सेमिफाइन र ओमानविरुद्धको फाइनल खेलमा गरेर कूल १८ लाख ७७ हजार खर्च भएको उल्लेख गरेको छ । जसमा यूएईविरुद्ध ८ लाख ९ हजार ५ सय र ओमानविरुद्धको फाइनले खेलमा १० लाख ६७ हजार ५ सय गरेर कूल खर्च १८ लाख ७७ हजार भएको अर्नाले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । समूह चरणको २२ लाख ९९ हजार र सेमिफाइनल तथा फाइनलको १८ लाख ७७ हजार गरेर प्रतियोगिताभर कूल ४१ लाख ७६ हजारको विल उठेको अर्नाले जनाएको छ ।
अर्नाले आज साँझ ५ः ३० बजे एक कायक्रमको आयोजना गरेर खेलाडी, कोच र सबै सर्पोटिङ स्टाफलाई पुरस्कार, सम्मानका साथै मायाको चीनो समेत प्रदान गर्ने जानकारी गराएको छ ।