Logo

जाजरकोट भूकम्प- मृतकको संख्या हेरफेर



काठमाडौं,२० कार्तिक । गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएकाको संख्या हेरफेर भएको छ ।

सरकारले यसअघि सार्वजनिक गरेको भूकम्पीडितको तथ्यांक हेरफेर गरेको हो । मृतक संख्या १५३ रहेको सरकारको पछिल्लो विवरणमा उल्लेख छ। यसअघि मृतक संख्या १५७ भनिएकोमा केही नाम दोहोरो परेकाले सच्याइएको सरकारले बताएको छ ।

एउटै व्यक्तिका फरकफरक नाम भएकाले दोहोरो टिपिएको पाइएको र अहिले सच्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मृतकमध्ये १०१ जना जाजरकोटका छन्। तीमध्ये ५६ महिला र ४५ पुरुष छन्। यस्तै, रुकुम पश्चिमका ५२ मृतकमध्ये २७ महिला र २५ पुरुष छन्।

सरकारी विवरणअनुसार, ३३८ जना घाइते भएकामा ९५ जना विभिन्न अस्पतालमा उपचाररत छन्। २४३ जना डिस्चार्ज भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ। उक्त भूकम्पमा परेर ४ हजार भन्दा धेरै घरहरुमा पूर्ण क्षति भएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्