Logo

आज बेलुकीसम्म अधिकांश भूकम्पपीडितले राहत पाउँछन् : रक्षामन्त्री खड्का, ‘राहतमा राजनीतिकरण गर्न खोजे अनर्थ हुन्छ’



काठमाडौं, २१ कात्तिक । उपप्रधान तथा रक्षामन्त्री पूणर्बहादुर खड्काले आज बेलुकीसम्म अधिकांश भूकम्पपीडित परिवारले राहत पाइसक्ने बताएका छन् । जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको उद्धार सफल भइसकेपछि सरकारको सम्पूर्ण ध्यान राहतमा केन्द्रित भएको पनि खड्काले बताए ।
‘भूकम्प गएको एक घन्टाभित्रै तीनवटै सुरक्षा निकाय परिचालित भयो । भोलिपल्टै ६ वटा हेलिकप्टरबाट घाइतेको उद्धार गरिसक्यौं । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । राहतको पहिलो चरणमा कतिपय ठाउँमा पाल, टेन्ट, कम्बल, म्याट्रेस, खाद्यान्न, भाँडाकुँडा र औषधि पुर् याइसकेका छौं । सडकमार्गको पहुँच नभएका ठाउँहरुमा राहत पुर् याउने क्रममा केही विलम्ब भयो । त्यस्ता ठाउँमा हेलिकप्टरबाटै राहत पठाउने व्यवस्था गरेका छौं । अधिकांश ठाउँमा आज बेलुकीसम्म पीडित परिवारमा राहत पठाइसक्छौं,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
जाजरकोट र रुकुम पश्चिममा पाँच हजारभन्दा बढी पाल वितरण गरिसकेको पनि रक्षामन्त्री खड्काले बताए । उनले थपे, ‘भूकम्पपीडित जनताले चिसोमा कठ्यांग्रिनु नपरोस् भनेर सरकार सचेत छ । कतिपय सामान पीडित परिवारकहाँ पुगिसक्यो । कतिपय सामान बाटोमा छन् । कतिपय आउने क्रममा छन् । अहिलेसम्म हामीले पाँच हजारभन्दा बढी पाल वितरण गरिसकेका छौं ।’
सरकार एकद्वार प्रणालीका नाममा कसैलाई राहत वितरणमा नरोकेको पनि उनले बताए । खड्काले भने, ‘सहयोगी दातालाई कुन ठाउँमा कति सामग्री चाहिन्छ भन्ने कुरा थाहा हुने कुरा भएन । सहयोग गर्न चाहनेहरु स्थानीय सरकारको संयन्त्रसँग समन्वय गरेर जान सक्छन् । कति सामान छ, फलानो ठाउँ जाऊ भनेर अनुमति दिन सक्छन् । कसैले पाएको पायै हुने, कसैले पाउँदै नपाउने स्थिति नहोस् भनेर हामीले एकद्वार प्रणाली लागू गरेका हौं ।’
भूकम्पपीडितलाई घरमा बस्ने वातावरण बनाउन केही समय लाग्ने पनि उनले बताए । मन्त्री खड्काले भने, ‘कति घर चर्केका छन्, कति घर भत्केका छन् । कति क्षति भयो भन्ने यकिन भइसकेको छैन । तर हामीले १० हजार घर भत्केको अनुमान गरे पनि त्यो संख्या २० देखि २५ हजार पुग्ने देखिएको छ । अब विभिन्न सहयोग जुटाएर योजनाबद्ध तरिका चाँडोभन्दा चाँडो भूकम्पप्रतिरोधी घर बनाउने अभियानमा लाग्छौं । सरकारी संयन्त्र नै बनाएर पुनर्निर्माण द्रुत गतिमा अघि बढाउँछौं । म ६ महिना वा एक वर्ष भनेर समय तोक्दिनँ । तर जनताले सुरक्षित आवासमा बस्ने व्यवस्था हुन्छ ।’
भूकम्प जस्तो प्राकृतिक विपद्मा राजनीति गर्नु अनर्थ हुने रक्षामन्त्री खड्काले बताए । उनले थपे, ‘हामीले राजनीतिलाई अलग राखेर मानवीय सेवामा पवित्र भावनाले लाग्नुपर्छ । यस्तो बेला राहतमा राजनीतिकरण गर्न खोजे अनर्थ हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्