काठमाडौं, कार्तिक २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठुलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
प्रधानमन्त्री प्रचण्डले यसअघि भूकम्प प्रभावित क्षेत्रमा थप राहत सामग्री पुर्याउने विषयमा भारत र चीनका राजदूतहरुसँग छलफल गरेका छन् । उनले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्लाई बालुवाटारस्थित निवासमा बोलाएर छुट्टाछुट्टै छलफल गरेका थिए ।