Logo

पाटन अस्पतालमा आकस्मिकबाहेकको सेवा ठप्प



काठमाडौं, कार्तिक २१ । ललितपुरको लगनखेलमा रहेको पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएकोमा नेपाल चिकित्सक सङ्घले विरोध जनाएको छ ।

गएको शनिवार ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै सङ्घले विरोध जनाएपछि पाटन अस्पतालमा आकस्मिकबाहेकको सेवा ठप्प भएको छ।

पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटी र ओखलढुङ्गाकी ९६ वर्षकी जनमाया राईको ज्यान गएको थियो । दुवै बिरामीलाई सुईमार्फत औषधि दिएको केही समयभित्रै ज्यान गएको भन्दै बिरामीका आफन्त आक्रोशित भएका थिए । अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कार्यस्थलमा काम गर्ने वातारण नभएको भन्दै आकस्मिकबाहेकको सेवा ठप्प पारेका हुन्।

उनीहरूले चिकित्सकमाथि हातपात गर्ने मानिसलाई प्रकाउ नगरेसम्म आकस्मिक बाहेक सेवा बन्द गर्ने चेतावनीसमेत दिएका छन्।

सङ्घका महासचिव डा सञ्जिव तिवारीले विज्ञप्ति निकालेर पाटन अस्पतालमा उपचार गराइरहेका बिरामीको ज्यान जानुको कारण निमोनिया भएको जनाएका छन् । निमोनियाको उपचारका लागि भर्ना भएका दुवै जना बिरामी अस्पतालको ज्येष्ठ नागरिक वार्डमा उपचाररत थिए ।

निमोनियाको सङ्क्रमणको उपचारका लागि उनीहरु दुवै जनालाई नियमित रुपमा चलाउँदै आइरहेको औषधि नै चलाइएको अस्पताल निर्देशक डा रवि शाक्यले बताएका छन्। औषधि चलाएको केही समयमै बिरामीको ज्यान गएकाले आफन्तले शङ्का गरेका भए पनि औषधिको कारण नभइ गम्भीर खालको निमोनियाका कारण उनीहरुको ज्यान गएको शाक्यले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot