काठमाडौं,२१ कार्तिक । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पबाट प्रभावित भएकाहरुको राहत र उद्धारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको छ ।
क्रान्तिकारीका ईन्चार्ज हिमाल शर्माको अध्यक्षतामा मंगलबार कोटेश्वरमा बसेको बैठकले प्रधानमन्त्री दैवी राहत कोषमा १० लाख रकम सहयोग गर्ने निर्णय भएको हो ।
आर्थिक संकलनका लागि संगठनको कार्यालय टिम, पदाधिकारी, सदस्यहरुको लागि फरक–फरक मापदण्ड बनाइएको छ । रकम संकलनका लागि अध्यक्षदेखि महासचिव पद सम्मकालाई पाँच हजार, त्यसभन्दा तल्लो पदका पदाधिकारीलाई तीन हजार, केन्द्रीय सदस्यहरुलाई एक हजार र प्रदेश कमिटी सदस्यहरुलाई ५०० रुपैयाँ निर्धारण गरिएको छ।