काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले मुलुकमा राष्ट्रिय विपद् परेका बेला पार्टीको महासमिति बैठक सर्नु स्वाभाविक भएको टिप्पणी गरेका छन् ।
‘मुलुकमा यति ठूलो राष्ट्रिय विपद् आइलागेको छ । सबै दलहरुले आआफ्ना कार्यक्रम थाती राखेर उद्धार र राहतमा लागिपरेका छन् । त्यसले महासमितिको तयारीमा जुट्न समस्या भएकाले केही समय सरेको हो । पछि भइहाल्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
नेता खड्काले राहतको जिम्मा स्थानीय सरकारबाट दिनुपर्ने र त्यसमा संघीय सरकारको सहजीकरण आवश्यक हुने औंल्याए । उनले भने, ‘स्थानीय सरकारको वडासम्म पहुँच हुन्छ, राम्ररी थाहा हुन्छ । त्यो काम संघीय सरकारको संयन्त्रबाट हुन सक्दैन । पीडितको तथ्यांक संकलन गरेर तत्काल राहतको व्यवस्था गर्नुपर्छ ।’
राहत वितरणको विलम्ब तत्काल हटाउनुपर्ने पनि उनले औंल्याए । खड्काले थपे, ‘उद्धारकार्यमा सरकारले तदारुकता देखायो । म धन्यवाद पनि दिन्छु । तर राहतमा एकद्वार प्रणाली बनाएर बेथिति नहोस् । कसैले पाँच दस पल्ट राहत पाउने कसैले नपाउने भन्ने हुँदैन । हामीसँग कोरोना र भूकम्पका बेलाका अनुभव छन् । विपद् कोषमा पैसा पनि छ, सहायता पनि आइरहेको छ । विपद्का बेला सबै दलहरु मिलेर काम गर्नुपर्छ । अब राहत वितरणमा विलम्ब हुँदैन भन्ने मलाई विश्वास छ ।’
व्यवस्थाका कमीकमजोरी औैंल्याएर राजतन्त्र फर्काउन सम्भव नहुने पनि खड्काले बताए । उनले भने, ‘हामी सुशासनमा चुक्यौं होला । यसलाई निगरानी राखेर व्यवस्था बरकरार राख्न सक्नुपर्छ । अनेकन् हल्लाहरुको प्रतिवाद गर्ने भन्दा हामी आफू पनि सच्चिँदै जानुपर्छ । हिजो व्यवस्था हामीले देखेकै हो नि । पञ्चायत र राजाको सक्रिय शासन देखेकै हो । राणाकाल पनि पढेकै हो । यो भन्दा उत्कृष्ट व्यवस्था के हुन्छ ? गणतन्त्रको विकल्प गणतन्त्र मात्रै हो ।’