Logo

भूकम्पपीडितको राहत कब्जा गरेको छैन : जनार्दन शर्मा



काठमाडौं, २३ कात्तिक । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले रुकुम पश्चिमका भूकम्पपीडितलाई पालको समेत अभाव रहेको बताएका छन् ।
‘रुकुम पश्चिममा १५ हजार घर क्षति भएको छ । माटोले जोडेका घरको छत छ तर भित्र बस्ने अवस्था छैन । भित्ताहरु आधाआधी चिरा परेका घरमा हामी जनतालाई राख्न सक्दैनौं । आठबिसकोट नगरपालिकामा ७ हजार ४ सय घरलाई पाल दिनुपर्नेमा ३ हजार १ सय पाल मात्र प्राप्त भ्एको छ । एक घरलाई एक पाल समेत दिन सकेका छैनौं । त्यो पनि सबैलाई दिन सकेको छैनौं । तर एउटा पालले सिंगो परिवारलाई पुग्दैन, कम्तीमा पाँचवटा पाल चाहिन्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
पूर्वमन्त्री शर्माले पाल वितरण स्थानीय सरकारमार्फत वितरण भएको पनि बताए । उनले भने, ‘पहिलो अभाव पाल, मेट्रेस र कम्बलको हो । पाल वितरणमा तीन दिन ढिला भएको साँचो कुरा हो । काठमाडौंबाट हिँडेको पाल तीन दिनमा मात्र आइपुग्यो । जति पाल आएका छन्, ती अपर्याप्त छन् ।’ खाद्यान्न, पाल र न्यानो कपडाका निम्ति बालबालिका, वृद्धवृद्धा, सुत्केरी र मृतकका परिवारलाई प्राथमिकता दिएको पनि उनले बताए ।
पहिलो चरणमा पाल वितरण भएपछि दोस्रो चरणमा जस्तापाताको अस्थायी आवास निर्माण गर्ने तयारी भएको पनि बताए । उनले थपे, ‘पहिलो कुरा सरकार पनि पाल पर्याप्त छ भन्ने भ्रमबाट मुक्त भए हुन्छ । आएका टेन्ट हामीले स्वास्थ्य चौकी र स्कुलका निम्ति प्रयोग गरेका छौं । पाल र कम्बलले नै सताइरहेको छ । जति पाल आएको छ, त्यति पर्याप्त छैन । पहिले हामीले दुइटा पालिकाको मात्र कुरा गरेका थियौं, मुसिकोट, त्रिवेणी लगायतका पालिकामा पनि हजार घर क्षति भएको रिपोर्ट आएको छ ।’ भूकम्पीडितलाई काउन्सिलिङको समेत आवश्यकता रहेको शर्माले औंल्याए ।
आफूले माओवादी नेताहरुले कार्यकर्तालाई मात्र त्रिपाल बाँडेको वा जाजरकोटको राहत कब्जा गरेको भनी भ्रम फैलाइएको आरोप पनि उनले लगाए । शर्माले भने, ‘रुकुम पश्चिममा पार्टी छैन यति बेला । कार्यकर्ता पनि छैन । जो छन् जनप्रतिनिधि छन् । सबै दलहरुको एउटै संयन्त्र छ । भूकम्पीडित छन् । कसैले आफ्ना कार्यकर्ता वा आसेपासेलाई मात्र राहत बाँडेको भन्ने मलाई जानकारी छैन । मैले जम्मा दुई ट्रक राहत रिसिभ गरेको हुँ । त्यसमा भ्रम फैलाएका हुन सक्छन् । यो निर्वाचन होइन, जनतालाई सेवा दिने बेला हो । राहत वितरणमा कतै पनि राजनीतिकरण भएको छैन । राहतको अभाव भएकाले सबैले नपाएको यथार्थ बुझ्नुपर्छ ।’
आफूले भूकम्प आउनासाथ साथीहरुसँग हारगुहार गरेर १० हजार त्रिपाल ल्याएको शर्माले स्पष्ट पारे । उनले थपे, ‘म सरकारमा छैन । साथीभाइलाई गुहारेर मैले ल्याएका १० हजार त्रिपालमध्ये ५ हजार जाजरकोट पठाएको हुँ । केही सल्यानमा पनि पठाएको छु । जिल्ला प्रशासनमा रेकर्ड हेरे हुन्छ । साथै उनले आफू जाजरकोट नगएको भन्ने कुराको पनि खण्डन गरे । उनले भने, म पहिलो दिन नै जाजरकोटको थाप्ले र नलसिंह गाड पुगेको थिएँ । त्यसपछि पनि एक पटक गएँ । त्यसपछि जान पाएको छैन । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतजी नै त्यहाँ खटिएकाले म नगएको हुँ । म हेलिकप्टरमा जाने गरिरहेको छैन । जहाँसम्म पालको कुरा हो, त्यो जाजरकोटमा पनि अभाव छ । रुकुम पश्चिममा पनि छ ।’
आफूले नेताहरुलाई आफू आउनुभन्दा पनि राहत पठाउन नभनेको पनि शर्माले बताए । उनले भने, ‘यहाँको आवश्यकता राहत सामग्रीको हो । राहत पठाउनोस्, हेलिकप्टर नचढौं भनेको छु ।’



प्रतिक्रिया दिनुहोस्