Logo

मुख्यमन्त्रीले खोला तरेर लौरो बिर्सिएको एमालेको गुनासो, कार्कीले भने -सरकारमा आउनुस् लौरो सुरक्षित छ



काठमाडौं,२३ कार्तिक । कोशी प्रदेश सभामा नेकपा एमालेका सांसद बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री केदार कार्कीले विपतमा साथ दिनेलाई लात हानेको भन्दै गुनासो गरेका छन् ।

बिहीबार प्रदेश सभाको सातौं बैठकमा मुख्यमन्त्री कार्कीलाई प्रश्न राख्दै पूर्व मन्त्रीसमेत रहेका राजभण्डारीले संकटमा खोला तार्ने एमालेलाई संकटमुक्त भएपछि कार्कीले लौरो बिर्सिएको गुनासो गरेका छन् ।

कार्कीलाई प्रश्न राख्दै उनले भने ‘एमालेसँगको सम्बन्ध अब के हुन्छ ? के हुँदैछ? मुख्यमन्त्री ज्यु पहिले तपाईं प्रदेश केन्द्रले चलाउने होइन भनेर प्रदेशसभामा बुरुक बुरुक गर्नुहुन्थ्यो। अहिले हाम्रो एमाले सहयोगमा मुख्यमन्त्री बनेपछि केन्द्रबाटै संचालित हुन थाल्नुभयो। त्यही भएर एमालेलाई खोलो तरेपछि लौरो बिर्सेजस्तो गर्नुभयो। अब एमालेलाई के गर्नुहुन्छ ?,’।

जवाफमा मुख्यमन्त्री कार्कीले आफूले एमालेलाई सरकारबाट निकालेको नभई उसले नै आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाएको दाबी गरे ।

उनले राजभण्डारीको प्रश्नमा जवाफ दिन आवश्यक नै नरहेको व्यंग्य गर्दै उनले भने ‘एमालेले अहिलेको सरकारलाई समर्थन जारी राखेको छ। सरकारबाट एमालेका मन्त्रीज्युलाई मैले निकालेको होइन। उहाँहरू आफैले राजीनामा दिनुभएको हो। मैले लौरो बिर्सेको छैन। बरु लौरो आफैं आवेशमा, इमोसनमा आएर निस्कनु भयो। म एमालेलाई साथै लिएर हिंड्न प्रतिबद्ध छु, । मैले एमालेको साथ छोडेको छैन् । मैले केन्द्रको मुख ताकेको छैन् । केन्द्रको मुख ताकेको भए मैले एमालेसँगको सम्बन्ध छोडेर गठबन्धनको मात्र सरकार बनाउँथे होला । मैले अघिल्लो मुख्यमन्त्री नेकपा एमालेबाटै मुख्यमन्त्री हुनु भएका हिक्मत कार्कीको एजेण्डालाई मुर्तरुप दिन सहमतिको र सर्वदलीय सरकार बनाउन निरन्तरता दिएको हो । त्यसका लागि अन्य पार्टीलाई सरकरामा ल्याउँदा एमालेले अन्यथा बुझ्नु हुँदैन’ मुख्यमन्त्री कार्कीले भने।

एमाले सांसद राजभण्डारीले कार्कीको प्रतिप्रश्न गर्न खोज्दा उपसभामुख सृजना दनुवारले उनलाई रोकिन्।

काङ्ग्रेसबाट बिद्रोह गरेर एमालेको सहयोगमा मुख्यमन्त्री बनेका कार्कीले उसको सहमति बेगर नै गठबन्धन दललाई सरकारमा सामेल गराएपछि एमालेले सरकार छाडेको छ।



प्रतिक्रिया दिनुहोस्