Logo

दरबारका हुक्के, चम्चे र ढोकेबाहेक अरु राजतन्त्रको पक्षमा छैनन्- वर्षमान पुन



काठमाडौं,२३ काठिमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान राज्य व्यवस्थामाथि कुनैपनि खतरा नभएको दाबी गरेका छन् ।

बिहीबार काठमाडौंमा अखिल नेपाल ट्रेड युनियनले गरेको कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्पको बारेमा सोच्नसमेत नसकिने बताएका छन् । फरक प्रसंगमा उनले वर्तमान व्यवस्थाको विकल्प खोज्नेहरु दरबार निकटका व्यक्ति रहेको आरोप लगाए । उनले दरबार निकटका हुक्के, चम्चे र तीनका ढोकेहरुले फैलाएको भ्रम मात्र रहेको बताए ।

निरंकुशताको आडमा व्यक्तिगत फाइदा लिएका केही व्यक्ति र शक्तिले विगतमा पनि गणतन्त्रप्रति विमति राखेको भन्दै उनले तिनै व्यक्तिले राजतन्त्रको वकालत गरेको बताए । ‘सानो समूहमा रहेका केही पश्चगामी र निरंकुशतन्त्रका पक्षपातीहरूले हिजोका दिनमा पनि गणतन्त्रप्रति विमति राखेका थिए । तिनीहरू स्वाभाविक रूपले राजतन्त्रकै निरन्तरता चाहन्थे’, पुनले भने, ‘वंशानुगत राजतन्त्रबाट लाभ प्राप्त गरेका तत्कालीन दरबारका आसेपासे, ढोके, हुक्के र तिनका चम्चेहरूले राजतन्त्र चाहिन्छ भन्नुलाई विल्कुल अस्वाभाविक मान्नुपर्दैन ।’

पुनले राजतन्त्रात्मक व्यवस्थामा जनताले पाएको दुःख र गणतन्त्र आएपछिको अवस्थामा निक्कै फरक रहेको बताउँदै गणतन्त्रको विकल्प अन्य कुनैपनि व्यवस्था हुन नसक्ने दाबी गरे । गणतन्त्र, संविधान, संघीयता र धर्म निरपेक्षताजस्ता परिवर्तनका राजनीतिक उपलब्धि बचाउनु माओवादी केन्द्रसहित १२ बुँदे समझदारी, २०६२-६३ को जनआन्दोलन शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियामा सहभागी मूलधारका राजनीतिक दलहरूको दायित्व भएको पुनले बताए ।



प्रतिक्रिया दिनुहोस्