Logo

आरती साहलाई न्याय दिलाउन लागिपर्‍यो आजपा, मानवअधिकार आयोगलाई बुझायो ज्ञापनपत्र



काठमाडौं,२३ कार्तिक । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले धनुषाकी आरती साहको हत्या भएको विषयमा सत्यतथ्य छानविन गरेर कारबाही गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

बिहीबार आजपाका उपाध्यक्ष तथा संविधानसभा सदस्य तिलक थापामगरको नेतृत्वमा गएको टोलीले आयोगका अध्यक्ष तपबहादुर मगरलाई ज्ञापनपत्र बुझाउँदै आरतीको न्यायको पक्षमा तदारुकता देखाउन आग्रह गरेको छ । आजपाको तर्फबाट पार्टीका केन्द्रीय सदस्य तथा पार्टी कार्यालय सचिव बालकृष्ण सापकोटाले ज्ञापनपत्र वाचन गरेका थिए ।

आरती गत जेठ ७ गते आफ्नै घरमा मृत फेला परेकी थिइन् । घरको कोठामा सलको पासो लगाएको अवस्थामा फेला परेकी आरतीलाई अस्पताल लैजाँदा डाक्टरले मृत घोषणा गरेका थिए । केटा पक्षले भने आरतीले आत्महत्या गरेको बताउँदै आएको छ । आरतीको माईती पक्षले भने उनको हत्या भएको दाबी गर्दै आएको छ।

आरतीको हत्या भएको भन्दै उनका श्रीमान र ससुराविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा परेको थियो । तर, अदालतको आदेशमा उनका श्रीमान र ससुरा दुबै थुनामुक्त भईसकेका छन् । आरतीका माईतीपक्ष बिगत ४ महिनाभन्दा धेरै लामो समयदेखि काठमाडौंको माईतीघरमा आन्दोलित छ ।

आजपाले विगत लोमो समयदेखि आरतीलाई न्याय दिलाउन पहल गरिरहेको छ । मंगलबार आजपा अध्यक्ष प्रभु साह स्वयं आरतीको न्यायका लागि धर्नामा बसेका थिए । उनकै पहलमा केही दिनअघि संसदको महिला, बालबालिका तथा सामाजिक समितिमा आरतीका बाबु-आमालाई छलफलको लागि बोलाईएको थियो । समितिले पनि तत्काल आरतीको परिवारलाई न्याय दिलाउन सरकारलाई निर्देशन दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्