काठमाडौं,२३ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली नेपाली नागरिकता बनाएर जग्गा खरिद गर्ने एक भारतीय नागरिक विरुद्ध मुद्दा दाय गरेको छ ।
अख्तियारले आज भारतीय नागरिक अनुप मेहराविरुद्ध ५ करोड ५ लाख रुपैयाँभन्दा बढी बिगो मागसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
मेहराविरुद्ध ५ करोड ५ लाख ४२ हजार रुपैयाँ बिगो मागसहित बिहीवार मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
नवलपरासीको साबिक सनई गाविसमा पर्ने हदबन्दी रोक्का रहेको जग्गा मेहराले नेपाली नागरिक अनुपकुमार खत्री भएर किनेका थिए ।
तत्कालीन प्रमुख मालपोत अधिकृत टीकाराम ज्ञवाली, भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, नासु बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठलगायतले उनलाई नेपाली नागरिक खडा गरेका थिए ।
नक्कली नेपाली नागरिक खडा गरी सरकारका नाममा आउनुपर्ने ३२ रोपनी जग्गा बेचबिखनमा संलग्न १३ जनाविरुद्ध अख्तियारले यसअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बिहीवार नक्कली नेपाली भएर जग्गा खरिद गर्ने मेहराविरुद्ध ५ करोड ५ लाख ४२ हजार रुपैयाँ बिगो माग गरी मुद्दा दायर गरिएको हो ।