Logo

आठबिसकोटका मेयरको दुखेसो– जनार्दन शर्माले रुकुम पश्चिमको त्रिपाल किन जाजरकोट पठाउनुभयो ?



काठमाडौं, २४ कात्तिक । आठबिसकोट नगरपालिकाका मेयर रवि केसीले पूर्वमन्त्री जनार्दन शर्माको चरित्रहत्या गर्न जाजरकोटको राहत र सोलार खोसेको वा लुटेको भन्ने दुष्प्रचार भएको दाबी गरेका छन् ।
‘यहाँ अहिले पनि दाल चामल, पाल र न्याना कपडाको अभाव छ । यस्तो बेला जनार्दन शर्माले जाजरकोटको राहत र सोलार खोसेर रुकुम पश्चिम लगेको भनेर अनावश्यक रुपमा चरित्रहत्या गर्न खोजिएको प्रचारबाजी खेदजनक छ । यो हुँदै नभएको कुरा हो । रुकुम पश्चिमको ५ हजार त्रिपाल जनार्दन शर्माले नै जाजरकोटमा पठाउनुभएको हो । हामीलाई नै त्रिपाल पुगेको छैन । न सोलार जिल्लामा आएको छ, न पालिकामा आएको छ । यस्तो हल्ला कसरी भयो ? हामी आफैं जनार्दन शर्मालाई रुकुममा आएको सामान किन जाजरकोट पठाउनुभयो भनिरहेका छौं,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
मेयर केसीका अनुसार कात्तिक १७ को भूकम्पबाट आठबिसकोट नगरपालिकामा ४४ जनाको मृत्यु भएको छ भने १०७ जना घाइते भएका छन् । नगरपालिकाका ७, १४७ घर ध्वस्त भएका छन् भने बाँकी घरमा आंशिक क्षति भएको छ । नगरपालिकाका सबै ४४ हजार नागरिक घरबाहिर बसेका छन् । अहिलेसम्म नगरपालिकाले ४ हजार त्रिपाल मात्र वितरण गरेको उनले बताए । केसीले भने, ‘हामी रातदिन नभनी भूकम्पपीडित जनताको उद्धार र राहतमा लागेका छौं । हामीले मृतकको परिवारलाई २५ हजार किरिया खर्च दिएका छौं । सबै ठाउँमा दालचामल पुर् याएका छौं । विपद् कोषमा डेढ करोड जम्मा गरेका छौं । आफ्नो स्रोत साधन अनुसार काम गरेका छौं । नगरपालिकाले राहत थन्काएर राखेको भन्नु अपमान हो ।’
राहतमा मृतकको परिवार, घाइते, सुत्केरी, बच्चाबच्ची, बुढापाकालाई प्राथमिकतामा राखेको उनले बताए । नगरपालिकामा अझै पनि ५ हजार त्रिपाल, खाद्यान्न र न्याना कपडा आवश्यक रहेको मेयर केसीले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्