Logo

सबैले एकैचोटि राहत लिन खोज्दा समस्या भयो : प्रधानमन्त्रीका सल्लाहकार



काठमाडौं, २४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले जाजरकोट भूकम्पका पीडितलाई राहत वितरणमा सरकार असफल नभएको बताएका छन् ।
‘भूकम्पपीडितको राहत र उद्धारमा केही पनि भएन, सरकार असफल भयो भन्न मिल्दैन । राहतको प्रक्रिया सुरु भइसकेको छ । राहत पर्याप्त नभएकाले केही अपवादमा आवश्यकता र अपेक्षा अनुसार समयमा नपुगेको वा विलम्ब भएको यथार्थ हो । राहत वितरणमा प्रधानमन्त्री, मन्त्री, कर्मचारी सबै लागिरहेको स्थिति छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
घर पूर्ण क्षति भएका र आंशिक क्षति भएका सबैले एकैचोटि राहत लिन खोज्दा पनि एकाध ठाउँमा समस्या देखिएको गजुरेलले औंल्याए । उनले भने, ‘घर पूर्ण क्षति भएकाले मात्र राहत खोज्नुपर्नेमा अरु सबैले एकैचोटि खोज्दा समस्या भयो । मैले पछि लिँदा पनि हुन्छ, अहिले अरुलाई पहिले दिऊँ भन्ने भावना जरुरी छ । पाउनुपर्नेले नपाइरहेको र अहिले नपाए पनि नहुनेले लिन खोज्ने । हामीले नमिलेको कुरालाई करेक्सन गर्दै लैजानुपर्छ ।’ राहतपछि सरकार अस्थायी बसोबासमा लागिपर्ने पनि उनले बताए ।
अर्को प्रसंगमा सल्लाहकार गजुरेलले संघीयताको स्वरुप निर्धारण गर्दा प्रदेशहरुलाई अधिकार नपुगेको बताए । उनले भने, ‘संघीयताको कार्यान्वयनमा चुनौती छन् । अधिकार नपुगेकै हो । संघीयताको स्वरुप निर्धारण गर्दा त्रुटि भएकै छ । त्यसैले परस्पर आशंका र अविश्वासको वातावरण बनेकै छ । माओवादी प्रदेशहरूलाई अधिकार दिनुपर्छ भन्ने पार्टी नै हो । मधेस आन्दोलनले त्यसलाई अझै मुखरित गर् यो । अरु राजनीतिक शक्ति संघीयताप्रति अस्पष्ट छन् । त्यसैले सबैलाई सोलोडोलो राखेर व्यवहार गर्नु भएन ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि भारत, चीन र अमेरिकासँगको सम्बन्ध सन्तुलित बन्दै गएको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्