काठमाडौं,२४ कार्तिक । रौतहटको मौलापुर नगरपालिकाकी निवर्तमान नगर प्रमुख रीनाकुमारी साहले निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा दर्ता गराएको रिटमा सुनुवाइ जारी छ । उनले कार्तिक १६ गते दर्ता गराएको रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा सुनुवाइ भईरहेको छ ।
स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएकी साह पछि आम जनता पार्टीमा प्रवेश गरेको दाबी गर्दै एमालेले निर्वाचन आयोगमा उजुरी हालेको थियो । एमालेको उजुरीपछि आयोगले उनलाई पदमुक्त गरेको सूचना जारी गरेको थियो ।
निर्वाचन आयोगको उक्त निर्णय कानूनसम्मत नभएको रीनाको दाबी रहेको छ । उनले एमालेले भनेजस्तो आफूले आजपा प्रवेश नगरेको र एमालेमै सक्रिया रहेको बताउँदै आएकी छन् । उनले रिटमा निर्वाचन आयोगको निर्णय बदर गर्न परमादेश माग गरेकाी छन् ।