काठमाडौं, २४ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले वीरगञ्जको नारायणी क्रिकेट रंगशालालाई किन विभेद गरिएको भन्दै प्रश्न गरेका छन् ।
प्रधानमन्त्री दाहाललाई ध्यानकार्षणपत्र लेख्दै यादवले काठमाडौंको मूलपानी, भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्दा वीरगञ्जको नारायणी रंगशालालाई किन विभेद गरिएको भनेर प्रश्न गरेका छन् ।
उनले नारायणी रंगशाला काठमाडौंको दशरथ रंगशालासँगै निर्माण भएको भएपनि अझै पूनःनिर्माणको लागि सरकारको पखाईमा रहेको बताएका छन् । उनले नारायणी रंगशालाले आधनुनिक एवम् व्यवस्थित् बन्नसक्ने सामथ्र्य राखेको दाबी गरेका छन् ।
उनले प्रधानमन्त्रीलाई गराएको ध्यानाकार्षण पत्रमा भनिएको छ–
मिति : २०८० कार्तिक २४ गते
सम्माननीय प्रधानमन्त्रीज्यू
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौँ
विषय : वीरगञ्जको नारायणी रङ्गशाला बारे ध्यानाकर्षण ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
मूलपानी क्रिकेट मैदान, भरतपुरको क्रिकेट रङ्गशाला र मोरङको विराटनगर रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्दै देशमा खेलकुद सम्बन्धित गतिविधिहरूलाई थप प्रोत्साहित गरी दिनुभएकोमा म यहाँलाई धन्यवाद दिन चाहन्छु । तर वीरगञ्जको ऐतिहासिक नारायणी रङ्गशालासँग विभेद किन? काठमाडौँको दशरथ रङ्गशालासँगै निर्माण भएको नारायणी रङ्गशाला अझै पुनःनिर्माणको लागि सरकारको पर्खाइमा छ । नारायणी रङ्गशाला एउटा आधुनिक एवम् व्यवस्थित रङ्गशाला बन्न सक्ने सामर्थ्य राखेको छ । मधेस प्रदेशको पुरानो एवम् व्यवस्थित रङ्गशाला किन सङ्घीय सरकारको नजरमा पर्न सकेन ?
नेपालको खेलकुद इतिहासमा मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्जमा अवस्थित नारायणी रङ्गशालाको नाम सुवर्ण अक्षरमा लेखिएको छ । मुलुकमा विभिन्न कालखण्डमा फुटबल, क्रिकेट लगायत खेलकुदसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको साक्षी बनेको नारायणी रङ्गशालाले देशलाई कैयौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गरेर दिएको सर्वविदितै छ । आज पनि नारायणीले देशकै दोस्रो ठूलो रङ्गशालाको दर्जा बोकेको छ । तर पनि वर्षौँदेखि यो सरकारको नजरमा पर्न सकेको छैन । जनताको न्यायको मन्दिर सङ्घीय संसदीय मार्फ़त पनि पटक–पटक यस विषयमा आवाज उठाउँदा समेत सरकारको यसमा ध्यान किन पुगेन?
२०४२ सालमा स्थानीयहरूको जनसहयोगबाट निर्माण भएको रङ्गशाला आज पूर्ण रूपले जीर्ण बनिसकेको छ । खेलमैदानमा अग्ला घाँसहरू उम्रिएका छन् र दर्शक बस्ने ठाउँ भत्किसकेको छ । हालसम्म यसलाई स्थानीय सरकार र वीरगञ्जवासीले आफ्नो प्रयासले जोगाएर राखेका छन् । समय–समयमा थोरै मर्मत सम्भार गरेर भए पनि यसको अस्तित्वलाई बचाएर राखेका छन् । तर आज सङ्घीय सरकारको एउटा निर्णयले सम्पूर्ण वीरगञ्जवासीलाई दुःखित तुल्याएको छ । मन्त्रिपरिषद्को बैठकले काठमाडौँस्थित मूलपानी क्रिकेट मैदान, मोरङको विराटनगर रङ्गशाला र चितवनको भरतपुर रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउन व्यवस्था मिलाउने निर्णय गर्दा त्यसमा नारायणी रङ्गशाला छुटेको वीरगञ्जवासीले महसुस गरिरहेका छन् । सरकारको यस व्यवहारबाट वीरगञ्जवासी रुष्ट बनेका छन् । असङ्ख्य अवसर र सम्भावनाहरू बोकेको यस रङ्गशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि नबढाउँदा वीरगञ्जवासीले आफूसँग विभेद भएको महसुस गरिरहेका छन् । सयौँ वर्षदेखि विभेदमा पर्दै आएका वीरगञ्जवासीले सङ्घीयता स्थापना पश्चात् विभेदको अन्त्य हुने अपेक्षा गरेका थिए, यद्यपि वर्तमान सरकारले पनि त्यसलाई निरन्तरता दिएको उनीहरूले महसुस गरिरहेका छन् । उनीहरू देशका अन्य स्थानलाई प्राथमिकतामा राख्दा सरकारले वीरगञ्जसँग गरेको उपेक्षाको कारण खोजिरहेका छन् । सम्पूर्ण वीरगञ्जवासीको प्रश्न छ – “सरकारले नै विभेद गर्दा जनता कहाँ जाने?”
तसर्थ सङ्घीय सरकारलाई आफ्नो निर्णय सच्याउँदै नारायणी रङ्गशालाको जीर्णोद्धार गर्न र यसलाई पनि राष्ट्रिय गौरवको आयोजनाहरूमा समावेश गर्न म आग्रह गर्दछु । आफ्नो सम्मानमाथि चोट पुग्ने निर्णय नसचिँदा नारायणी रङ्गशालाका लागि वीरगञ्जवासी चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछन् र भविष्यमा त्यस कारण प्रमुख आर्थिक नगर वीरगञ्जमा सृजना हुनसक्ने परिस्थितिको जिम्मेवारी स्वयम् सङ्घीय सरकार हुने पनि अवगत गराउन चाहन्छु । धन्यवाद ।
प्रदीप यादव
प्रमुख सचेतक
जनता समाजवादी पार्टी नेपाल