काठमाडौं, २४ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा नपर्ने बताएका छन् । उनले यो व्यवस्था नेपाली जनताको संघर्षबाट स्थापित भएकोले संकटमा पर्ने कुनै खतरा नरहेको स्पष्ट पारे । लौहपुरूष गणेशमान सिंहको १०९ओै जन्मजयन्तिमा आयोजित कार्यक्रमका क्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।
उनले अहिले जनताले डेलिभर खोजिरहेको भन्दै जनताको जीवनस्तर उठाउन त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । ‘जनतालाई डेलिभरि गर्न तिनै तहका सरकारलाई आवश्यक अधिकार दिएर हामी अगाडि बढ्नुपर्छ’–उनले भने । स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारलाई प्रभावकारी बनाउनुपर्ने सिंहले बताए ।
त्यस्तै सञ्चारकर्मीको जिज्ञासामा उनले तिहारपछि सत्तागठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको पनि बताए । संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमतिअनुसारनै गठबन्धन अघि बढ्ने सिंहको भनाई थियो ।
साथै, भुकम्प प्रभावित नागरिकको सहयोगका लागि सरकार र सबै एकजुट भएर दुःखमा साथ दिनुपर्ने बताएका छन् । उनले जनताको सुखदुःखमा साथ दिन सक्नु नै आजको दिन मा सर्बोच्च नेताप्रतिको सच्चा श्रद्धाञ्जली हुने समेत बताए ।