Logo

निम्न व्यापारी सङ्घद्वारा भूकम्पपीडितलाई कपडा सहयोग



काठमाडौँ, २४ कात्तिक । काठमाडौँ निम्न व्यापारी सङ्घ, खुला बजार भृकुटीमण्डपले भूकम्पपीडितलाई सात लाख बराबरको कपडा सहयोग गरेको छ ।

सङ्घले भूकम्पपीडितका लागि सङ्कलित लत्ताकपडा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं समाजकल्याण परिषद्का अध्यक्ष सुरेन्द्रराज आचार्यलाई भृकुटीमण्डपमा एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । सो अवसरमा मन्त्री आचार्यले भूकम्पबाट धेरैजसो महिला र बालबालिका प्रभावित भएको बताउँदै प्राकृतिक विपत्तिको यस दुःखको घडीमा सरकार सदैव पीडित जनताको साथमा रहेको बताए ।

समाजकल्याण परिषद्का आर्थिक विभाग प्रमुख दुर्गा भट्टराईका अनुसार सङ्कलित राहत सामग्रीमा हाइनेक, ट्राउजर, पोलार ब्ल्याङ्केट, पछ्यौरा, रिभरसिभर ज्याकेट, बालबालिकाका लागि पाइन्ट, टोपी र स्यानिटरी प्याडलगायतका लत्ताकपडाका छन् ।

यही कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । सो भूकम्पका कारण ठूलो मानवीय र भौतिक क्षति पुगेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot