Logo

तिहारको मुखमा धमाधम धान भित्र्याउँदै मोरङका किसान



काठमाडौं,२४ कार्तिक । कात्तिक महिना मैझारो हुने क्रममा रहेका बेला मोरङका किसान धमाधम धान भित्र्याइरहेका छन् । हालसम्म ३५ प्रतिशत धान किसानका भकारीमा भण्डारण भएको छ भने गर्जो टार्न खलिहानबाटै बिक्री पनि भएको छ ।

जिल्लाभर ८३ हजार तीन सय हेक्टरमा रोपाइँ भएकोमा कात्तिक २९ हजार हेक्टरको मात्र धान काटिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

मोरङमा गत वर्ष ८२ हजार नौ सय हेक्टर जमिनमा धान लगाइएको थियो । मौसमले साथ दिएको र समयमै मल वितरण हुँदा यो वर्ष धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रका प्रमुख रामदेव सिंहले बताए । गत वर्ष प्रतिहेक्टर ४ दशमलब ५ मेट्रिकटन धान उत्पादन भएकामा यो वर्ष बढेर प्रति हेक्टर पाँच मेट्रिकटनभन्दा बढी धान उत्पादन हुने सङ्केत देखिएको प्रमुख सिंहले बताए ।

मोरङका १७ पालिकामध्ये रङ्गेली नगरपालिका, उर्लाबारी नगरपालिका र पथरी नगरपालिकामा ५० प्रतिशत धान कटान भएको छ, कटहरी गाउँपालीका, जहदा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र कानेपोखरी गाउँपालिकामा २५ प्रतिशत, सुनवर्षी गाउँपालिका,धनपाल गाउँपालिका,रतुवामाई नगरपालिका, लेटाङ नगरपालिका, सुन्दरहरैचा नगरपालिकामा ४० प्रतिशत, विराटनगर महानगरपालिका, बेलबारी नगरपालिका, ग्रामथान गाउँपालिका र बुढीगङ्गा गाउँपालिकामा ३० प्रतिशत धान कटान भएको प्रमुख सिंहले बताए । बासमती प्रजातिका धान पाक्न थप समय लाग्ने भएकाले केही समयपछि मात्र काट्नुपर्ने उनले बताए ।

मोरङमा धेरै मात्रामा रञ्जित धान, राम धान, बिबी एघार, स्वर्ण धान रोप्ने गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मोरङमा गतवर्ष तीन लाख ३८ हजार एक सय १४ मेट्रिकटन धान उत्पादन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot