Logo

राहत वितरणमा घिनलाग्दो राजनीति भयो, आआफ्ना मान्छेलाई राति-राति घरमै पुर्‍याइयो : समाजवादी अध्यक्ष



काठमाडौं, २५ कात्तिक । नेकपा (एकीकृत समाजवादी) जाजरकोटका अध्यक्ष कमानबहादुर खड्काले भूकम्पपीडितको राहत वितरणमा घिनलाग्दो किसिमले राजनीतीकरण गरेको आरोप लगाएका छन् ।
‘जाजरकोटमा अत्यन्त चिसो छ । मौसम खराब छ । बदली हुन लागेको छ । ५० प्रतिशत नागरिक खुला आकाशमुनि रात बिताइरहेका छन् । राहत वितरणमा घिनलाग्दो काम भयो । आआफ्ना मान्छेलाई राति राति घरमै पुर्‍याइयो । त्यसले गर्दा सदरमुकाममा नजिककै कैयौं वडामा अझै राहत वितरण हुन सकेको छैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
नेता खड्काले जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय सरकारमार्फत राहत वितरण गर्ने जिम्मा दिए पनि त्यो पारदर्शी नभएको बताए । उनले भने, ‘राहत वितरणमा त्रुटि भए । पीडाका बेला समान रुपमा राहत बाँड्नुपर्नेमा राजनीतिक भेदभाव भयो । जाजरकोटका सातवटा स्थानीय तहमध्ये शिवालाय, ठेरागाड र जुनी चाँदेमा पारदर्शी नै छ । तर नलगाड र भेरी नगरपालिकामा समस्या छ ।’ सरकारले तत्काल एक घर परिवार बराबर ५० हजार रुपैयाँ उपलब्ध गराएर अस्थायी आवास बनाउनुपर्नेमा उनको जोड छ ।



प्रतिक्रिया दिनुहोस्