Logo

तिहारमा जुवा-तास नखेलौं, अरूलाई ‘डिस्टर्ब’ नगरी देउसी-भैलो खेलौं : प्रहरी प्रवक्ता



काठमाडौं, २५ कात्तिक । नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेरसिंह कठायतले सरकार सामाजिक सञ्जाललाई नियन्त्रणभन्दा व्यवस्थित गर्न लागेको बताएका छन् । सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका आउनु उपलब्धि भएको उनको टिप्पणी छ ।
‘मानिसको अपराध गर्नुहुँदैन । अपराध गरे नियन्त्रणमा लिनुपर्छ । सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका आएको छ । केही नभएको ठाउँमा निर्देशिका आउनु उपलब्धि हो । यसले डिजिटल प्लेटफर्ममार्फत हुने अपराध नियन्त्रणमा सहयोग पुर्‍याउँछ । पीडितलाई पनि राहत पुर्‍याउन सक्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
सामाजिक सञ्जाल बन्द गरिहाल्ने सोच प्रहरीको नभएको पनि प्रवक्ता कठायतले बताए । उनले थपे, ‘हामीले सामाजिक सञ्जाल बन्द, निलम्बन वा नियन्त्रण गर्ने होइन, एउटा संयन्त्र बनाएर व्यवस्थित गर्ने हो । कानुन आयो भने धेरै हदसम्म नियन्त्रण हुन्छ । आफ्नो मर्यादा खोज्नेले अरुको पनि मर्यादा राख्नुपर्छ भन्ने प्रयोगकर्ताले बुझ्नुपर्छ ।’
डीआईजी कठायतले सामाजिक सञ्जालका सम्पर्क कार्यालय नेपालमा भएकाले साइबर अपराधमा हुँदा समस्या भएको पनि बताए । उनले भने, ‘सामाजिक सञ्जालहरुको कर्पोरेट अफिस नेपालमा छैन । कानुनको अभाव छ । लेखापढीमा ढिलाइ हुँदा जनमानसमा प्रहरीले कामै गरेन भन्ने लागेको हुन सक्छ । अब निर्देशिकाको सदुपयोग गरौं ।’
खुसी र उमंगका साथ तिहार मनाउने सुरक्षा योजना प्रहरीसँग रहेको उनले बताए । कठायतले जुवा तास खेल्न नपाए पनि स्थानीय प्रशासनको अनुमति लिएर देउसी भैलो खेल्न मिल्ने बताए । उनले भने, ‘तर अरुलाई डिस्टर्ब गर्नु भएन ।’
अर्को प्रश्नमा प्रहरी प्रवक्ता कठायतले प्रहरी संगठन जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको उद्धार र राहत व्यवस्थापन र अस्थायी आवासका निम्ति लागिरहेको बताए । उनले भने, ‘चिसोको वातावरण छ । सरकार र विभिन्न संघसंस्थाबाट राहत दिने कोसिस भइरहेको छ । तर त्यो पर्याप्त छैन । त्यसैले पुगेको छैन । यसबारे हामीले आम नागरिकलाई डिजिटल प्लेटफर्ममार्फत जानकारी दिइरहेका छौं ।’



प्रतिक्रिया दिनुहोस्