काठमाडौं, २५ कार्तिक । विगत १९ वर्षदेखि काग तिहारको दिन प्रत्येक वर्ष काग सम्मेलन गर्दै आएका कलाकार रमेश दुलालले (काग दाई) ले यसपटक पनि काग तिहारको अवसरमा २०औं काग सम्मेलन गरेका छन् ।
कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक सुरु भएसँगै आज पहिलो दिन काग तिहारको अवसरमा दुलालले २०औं काग सम्मेलन सफलतापूर्वक सम्पन्न गरेका हुन् । १ सय ७३ जीव–जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने कलाकार रमेश दुलाल (काग दाई)ले काठमाडौंको रत्नपार्कमा २०औं ‘काग’ सम्मेलन सम्पन्न गरेका हुन् ।
राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलन बिहान करिब ४० मिनेटसम्म उनले कागलाई बोलाएका थिए र सयौं काग एकै ठाउँमा झुम्मिएका थिए । ‘मैले विगत १९ वर्षदेखि यसरीनै विभिन्न ठाउँमा काग सम्मेलन गर्दै आएको छु । विशेषगरि तिहारको परम्परालाई जोगाई राखौं र सकारात्मक सन्देश दिऊँ भन्ने मेरो चाहाना हो’– उनले भने । काग सम्मेलनकर्ता कलाकार दुलालकाअनुसार रत्नपार्क क्षेत्रमा विगत वर्षहरुमा जस्तो कागको छैनन् । उनले भने,‘यो ठाउँमा सुरुसुरुमा निकै काग हुने गर्थे, अहिले कमि आएको छ ।’
दुलालले काग सम्मेलन पहिलो वर्ष पश्चिम धनगढीबाट सुरु गरेका थिए । दाङ र ईलाममा केही वर्ष काग सम्मेलन गरेपछि काठमाडौंमा गर्न थालेको उनले बताए। । आफूले सपनामा काग कराएको देखेपछि बिपनामा पनि काग कराउन थालेको र प्रत्येक वर्ष काग तिहार दिन काग जम्मा पार्ने गरेको उनले स्मरण गराए ।
उनी अघि भन्छन्–‘कागको शुभ र अशुभ खबर हुन्छ । कागलाई शुभ खबरले बोलाउँदा आउँदैन र अशुभ खबरले बोलाउँदा आउँछ । उसको भाषा बुझेर बोलाउनुपर्छ ।’ यस वर्षको काग सम्मेलनमा पहिलेको जस्तो कागको संख्या कम हुँदै गएको उनले बताए ।
सो अवसरमा राष्ट्रिय सङ्गीतकर्मी संघका कार्यबाहक अध्यक्ष प्रकाश कटुवालले विगतमा भन्दा आउँदा वर्षहरुमा कागको संख्या काम हुँदै गएको बताए । उनी भन्छन्–‘हामीपनि बिगत लामो समयदेखि रमेश दुलालजीसँगै छौं । कागको संख्यामा कमि आएको अनुभूति गरेका छौं ।’
दुलालले कागको आवाज निकाल्नुबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । गाई, भैँसी र अन्य चराचुरुङ्गीको आवाज पनि दुरुस्तै सुनाउँदै आएको दुलालले बताए । यसदिन कागलाई मीठा खाने कुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ।
यसबर्ष ह्याम्स हस्पिटल काठमाडौं र सन्दकपुर गाउँपालिका इलामले कार्यक्रमको सह आयोजना गरेको हो । साथै एसियामा गजल रेष्टुरेन्टको मुख्य प्रायोजन, ओशियन ब्राइट, शान्ति तथा ग्रामिण विकास केन्द्र (सिपाई), टप राजधानी रोधी क्लब, ओम तन्दुरी र होराईजन स्पाको सह प्रायोजन रहेको छ ।