Logo

जाजरकोट र रुकुम पश्चिममा ‘विपद् पर्यटन’ फस्टायो : एमाले सचेतक



काठमाडौं, २६ कात्तिक । प्रमुख विपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले भूकम्पपीडितलाई अस्थायी टहरा निर्माणमा सरकारले ध्यान दिन नसकेको आरोप लगाएका छन् ।
‘अहिले जाजरकोट र रुकुम पश्चिममा दुःख र पीडा छ । यस्तो अवस्थामा सरकारको आलोचना गर्न पनि हुँदैन । तर अस्थायी टहराका निम्ति जुन गति बढाउनु पर्थ्र्यो, त्यो भएको छैन । भूकम्पपीडितलाई सरकार छ भन्ने अनुभूति दिलाउनुपर्छ । यसनिम्ति मागपत्र पेस गर्नुपर्ने, दबाब दिनुपर्ने वा सडकमा प्रदर्शन गर्ने अवस्था आउनुहुँदैन,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
एमाले सचेतक बर्तौलाले सरकारको कमीकमजोरीका कारण ‘विपद् पर्यटन’ फस्टाएको पनि बताए । उनले थपे, ‘राहत वितरणमा तेरो र मेरो गाउँ र जिल्ला भन्ने, राहत बोकेको ट्रक नै किड्न्याप गरेर लाने, राहतको नाममा केही दिएजस्तो गरेर फोटो खिचाउने, हेलिकप्टरबाट सिन हेर्ने अवस्था सरकारले नै निर्माण गरेको हो । कतिपय विपद् पर्यटकको रुपमा पुगेका छन् । उनीहरुले पर्यटकीय गन्तव्य जस्तो बनाएका छन् । त्यसले जनतालाई थप पीडा दिएको छ ।’
उनले अहिलेको अप्ठ्यारोका अवस्थालाई आफ्नो दलको मार्केटिङ गर्ने मेलो नबनाउन पनि चेतावनी दिए । बर्तौलाले भने, ‘जनताको दुःखमा सिंगो देश एक ठाउँमा उभिनुपर्छ । भूकम्पबाट जे जति धनजनको क्षति भयो, त्यसमा सरकार नै संवेदनशील हुनुपर्छ । अस्थायी आवास निर्माणमा प्रतिस्पर्धा गर्नु जरुरी छैन । अस्थायी टहरा निर्माणमा हामी पनि खटिन्छौं । हाम्रो सहयोग रहन्छ । त्यसमा पार्टी दृढ छ ।’
भूकम्पका कारण भत्किएका विद्यालय भवनबारे सोच्न पनि उनले आग्रह गरे । बर्तौलाले भने, ‘विद्यालय र सार्वजनिक संस्थाको बारेमा पनि सरकारले अविलम्ब सोच्नुपर्छ । छठलगत्तै विद्यालय लाग्छ । विद्यालयका भवन भत्केका र चर्केका छन् । चिसो बढ्दै गएको छ । त्यसकारण यसबारे अविलम्ब सोच्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot