Logo

प्रधानमन्त्रीलाई गगनको आग्रह- फजुल खर्च रोकेर पूर्वाधार विकास कोषको ८ अर्ब पुनर्निर्माणमा लगाउनुस्



काठमाडौं,२६ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको करिब ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनर्निर्माणमा लगाउन सरकारसँग माग गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत सांसदसमेत रहेका थापाले भूकम्पपछिको पुनर्निर्माणमा ठूलो खर्च हुने भएकाले सरकारबाट भइरहेका फजुल खर्च रोक्न आग्रह गरेका छन् ।

‘भूकम्पपछि तत्काल राहत, अस्थायी आवास निर्माण र पुनर्निर्माण सम्म पुग्दा ठुलो खर्च लाग्छ किनकि भूकम्पले क्षति पुर्‍याएका हजारौँ त घर मात्र बनाउनु पर्नेछ। सरकारले यो सबैको व्यवस्थापन गर्नुपर्नेछ। त्यसैले हामीले प्रधानमन्त्रीलाई भेटेरै दुई वटा कुरा तत्काल गर्न भनेका छौँ’। उनले भनेका छन् ‘एक, सरकारबाट भइरहेका फजुल खर्च रोक्नुहोस् र भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुहोस्। अनि बल्ल, सरकारको गम्भीरता देखिन्छ। दुई, संसदीय कोष भनेर चिनिने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम को लागि छुट्टाएको करिब ८ अरब २५ करोड रुपैयाँ पुनर्निर्माण कोषमा जम्मा गर्नुहोस्। सरकारले, आफैँले तत्काल गर्न सक्ने यति काम सुरु गरेपछि बल्ल अन्य सहयोगी, दाताहरू तथा अन्यत्रबाट सहयोग माग्ने, व्यवस्थापन र परिचालन गर्ने नैतिक बल सरकारलाई प्राप्त हुन्छ’।

थापासहित कांग्रेसका अर्कामहामन्त्री विश्वप्रकाश शर्मा विनासकारी जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरुको उद्धार र राहतको कार्यमा खटिएका थिए ।



प्रतिक्रिया दिनुहोस्