Logo

तिहारले सबै नेपालीबीच सद्‍भाव,सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्नेछ: पूर्व राष्ट्रपति भण्डारी



काठमाडौं,२६ कार्तिक । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले नेपालीबीच आपसी सद्‍भाव, सहिष्णुता भ्रातृत्वको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेकी छन् ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका अवसरमा शुभकामना सन्देश दिँदै पूर्व राष्ट्रपति भण्डारीले तिहार पर्वले नेपालीबीच आपसी सद्‍भाव, सहिष्णुता भ्रातृत्वको भावना अभिवृद्धि गर्दैराष्ट्रिय एकतालाई थप सुद‍ृढ बनाउने विश्वास व्यक्त गरेकी हुन् ।

पौराणिक, सांस्कृतिक र व्यवहारिक महत्व समेत बोकेको तिहारलाई दीपावलीका रुपमा पनि चिनिने उनले उल्लेख गरेकी छन् । दीपावलीको माध्यमबाट प्रकट हुने प्रकाशले सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना समेत पूर्व राष्ट्रपति भण्डारीले गरेकी छन् ।

तिहारमा सामाजिक तथा सामुदायिक हितमा हुने कार्यलाई बढावा दिनुपर्ने र जुवातास जस्ता नकारात्मक पक्ष हटाउँदै जानुपर्ने समेत उनले उल्लेख गरेकी छन् ।

शुभकामना सन्देशको पूर्णपाठ

नेपालीहरूको महान् चाड तिहार, २०८० को पावन अवसरमा विश्‍वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालीहरूको एक महत्त्वपूर्ण र मौलिक चाडको रूपमा रहेको तिहार पर्वको अवसरमा काग, कुकुर, गाई र गोरु लगायत पशुपंक्षीको पूजा गरिनुका साथै धन र ऐश्‍वर्यकी देवी लक्ष्मीको पूजा अर्चनाका साथै दीपावली गर्ने तथा दिदीबहिनीद्वारा दाजुभाइलाई सप्तरङ्गी टीका एवं सयपत्री र मखमली फूलको माला लगाई पूजा गर्ने परम्परा रहेको छ । यसरी तिहार पर्वले प्रकृति‚ मानव र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मिय सम्बन्धलाई प्रगाढ बनाउँदछ ।

यसैगरीतिहारको अवसरमा टोल छिमेकका घरघरमा गएर देउसी–भैलो खेल्ने, देउसे र भैलेनी टोलीलाई गच्छेअनुसारको दक्षिणा दिने र त्यसबापत टोलीद्वारा घरबेटीलाई सुख, शान्ति र समृद्धिको लागि शुभ आशिष् दिने अत्यन्त मौलिक र सुन्दर परम्परा समेत रहेको छ । देउसी भैलोको दक्षिणाबाट सङ्कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने असल अभ्यासलाई हामीले जोगाउनु पर्दछ भने तिहारलाई जुवा–तास खेल्ने अवसरका रूपमा लिने नकारात्मक पक्षलाई भने हामीले हटाउँदै जानु पर्दछ ।

पौराणिक, सांस्कृतिक र व्यवहारिक महत्त्व बोकेको तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ । दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्‍ने कामना गर्दछु । अन्तमा, तिहार पर्वले सम्पूर्ण नेपालीहरू बीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्‍वासका साथ पुन: तिहार पर्व, २०८० को हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८० साल कात्तिक २६ गते, आइतबार ।



प्रतिक्रिया दिनुहोस्

Screenshot