Logo

नेपालमा मनाइने जात्रा पर्वले विविधतालाई एकतामा बाँध्ने काम गरेको छः राष्ट्रपति पौडेल



काठमाडौं,२६ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा मनाइने जात्रा पर्वले विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको बताएका छन् ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्‍भाव, सहिष्णुता भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुद‍ृढ बनाउने विश्वाससमेत व्यक्त गरेका छन् ।

‘नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो । नेपालमा मनाइने जात्रा पर्वले विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको छ । यस्ता पर्वहरू मध्ये दसैँ र तिहार हिन्दुहरूको महान् चाड पनि हो । यी चाडहरूले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकतामा बाँध्ने गरेको छ । बडा दसैँमा शक्तिकी श्रोत देवीको पूजा आराधना गरी मनाइन्छ भने तिहारमा काग, कुकुर, गाई‍, गोरु, पर्वत, लक्ष्मी र दाजुभाइको पूजा तथा आराधना गरी मनाइने चलन छ’ । शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन् ।

उनले शुभकामना सन्देशमा थप भनेका छन् ‘मानव र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्धका स्वरूप गोवर्द्धन पर्वत,मानव र अन्य जनावरबीचको सुमधुर सम्बन्धलाई स्थापित गर्न गाई, कुकुर,काग लगायत जनावरको पूजा गरी अन्तिम दिन दिदीबहिनी र दाजु-भाइबीचको अटुट सम्बन्धको प्रतीकका रूपमा भाइटीका लगाएर यो चाड समापन गरिन्छ । गाई पूजा गरी देउसी भैलो खेल्ने प्रचलनले मौलिक संस्कृति संरक्षण गर्ने अर्को महत्त्वपूर्ण कडिका रूपमा यो पर्वलाई हेरिन्छ । नेवार समुदायले म्हपूजा गरी आत्माशुद्धि गर्ने चलन पनि यसै पर्वको महत्त्वपूर्ण पक्ष हो । पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व पनि हो । त्यसैले तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ । उज्यालो आफैमा प्रेरणाको विम्ब हो । तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्‍ने कामना गर्दछु’ ।



प्रतिक्रिया दिनुहोस्