Logo

भूकम्प प्रभावित क्षेत्रमा फजुल खर्च रोक्नुपर्नेमा महामन्त्री गगन थापाको जोड



काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न आग्रह गरेका छन् ।

सरकारले सबैभन्दा पहिले आधारभूत सेवा भूकम्पपीडितलाई दिनुपर्ने त्यसपछि मात्र अन्य सहयोगी दाताहरू तथा अन्यत्रबाट सहयोग माग्न पनि थापाले सुझाएका छन् । आज प्रधानमन्त्रीसँग भएको भेटमा महामन्त्री थापाले फजुल खर्च रोकेर भूकम्प प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न आग्रह गरेको महामन्त्री थापाको निजी सचिवालयले जनाएको छ ।

महामन्त्री थापाले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ का लागि छुट्याइएको रु आठ अर्ब २५ करोड पुनर्निर्माण कोषमा जम्मा गर्न अनुरोध गरेका थिए । भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न उनले आग्रह गरे ।

थापाले फेशबुकमा लेखेका छन्

भूकम्पपछि तत्काल राहत, अस्थायी आवास निर्माण र पुनर्निर्माण सम्म पुग्दा ठुलो खर्च लाग्छ किनकि भूकम्पले क्षति पुर्‍याएका हजारौँ त घर मात्र बनाउनु पर्नेछ। सरकारले यो सबैको व्यवस्थापन गर्नुपर्नेछ। त्यसैले हामीले प्रधानमन्त्रीलाई भेटेरै दुई वटा कुरा तत्काल गर्न भनेका छौँ।

एक, सरकारबाट भइरहेका फजुल खर्च रोक्नुहोस् र भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुहोस्। अनि बल्ल, सरकारको गम्भीरता देखिन्छ।

दुई, ‘संसदीय कोष’ भनेर चिनिने ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ को लागि छुट्टाएको करिब ८ अरब २५ करोड रुपैयाँ पुनर्निर्माण कोषमा जम्मा गर्नुहोस्।

सरकारले, आफैँले तत्काल गर्न सक्ने यति काम सुरु गरेपछि बल्ल अन्य सहयोगी, दाताहरू तथा अन्यत्रबाट सहयोग माग्ने, व्यवस्थापन र परिचालन गर्ने नैतिक बल सरकारलाई प्राप्त हुन्छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot