काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले जाजरकोटका भूकम्पपीडितको राहतमा प्रभावकारिता बढाउन सरकारलाई सुझाव दिएका छन् ।
‘भूकम्पपीडितको राहतमा सरकारले सरकारले एकद्वार प्रणाली बनाएको छ । तर त्यसलाई व्यवस्थित र प्रभावकारी बनाउन सकेको छैन । पीडितको आवश्कयता र प्राथमिकता निर्धारण गरेर सहयोग गर्न सक्नुपर्छ । संकलित राहत र सहयोग तीनचार महिना .पछि गएर केही अर्थ हुँदैन । तत्काल न्यानो कपडा, टेन्ट, पाल, खाद्यसामग्री, औषधि लिएर जानु जरुरी छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
भूकम्पपीडितलाई कतिपयले देखावटी सहयोग मात्र गरेको आरोप पौडेलले लगाए । उनले थपे, ‘सहयोग गर्नेले पनि देखावटी मात्र गरेको देखिएको छ । यो देखावटी गर्ने विषय होइन । स्वयंसेवीहरुले त्यहीं गएर फोटो खिच्नेभन्दा यहींबाट पनि सहयोग पुर् याउन सक्छन् ।’
राहतमा विभेद र राजनीतीकरण भए सरकारको आलोचना बढ्ने पनि उनले औंल्याए । पौडेलले भने, ‘अहिले यो भएन, त्यो भएन भनिहाल्ने अवस्था छैन । यस्ता खालका समाचार पनि आइरहेका छन् । यस्तो भयो भने सरकारको आलोचना बढ्छ । भूकम्पले जो कोही नागरिकलाई समस्या भएको छ । यसमा आफ्नो वा अर्को पार्टी भनेर पूर्वाग्रह राख्नु हुँदैन । जरुरी हुनेलाई दिने अवस्था निर्माण गर्नुपर्छ ।’
सरकारले ५० हजार दिए पनि तत्काल भूकम्पप्रभावित क्षेत्रमा सिकर्मी र मिस्त्रीको अभाव हुने पनि पौडेलले बताए । साथै उनले कांग्रेसले १ हजार टहरा बनाउने कुरा घोषणामा मात्र सीमित हुनु नहुने पनि औंल्याए ।
अर्को प्रसंग नेता पौडेलले भूकम्पबाट देश पीडित भएको र चाडबाडका बेला सरकार परिवर्तनको कुरा उपयुक्त नहुने बताए । उनले भने, ‘सरकारसँग सन्तुष्ट हुने स्थिति त छैन । सरकारका आठनौ महिनामा उपलब्धि के के हुन् भनेर प्रश्न पनि छन् । तर यतिबेला सरकार परिवर्तनको कुरा उपयुक्त हुन्छ भन्ने लाग्दैन । अहिले अन्तर्विरोधको विषयभन्दा सरकारलाई कसरी सहयोग पुर् याउन सकिन्छ, त्यसबारे सोच्नु उपयुक्त हुन्छ ।’