Logo

गौशालामा यसरी मनाइयो गाई तिहार (फोटो फिचर)



काठमाडौं, कार्तिक २७ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । राजधानीको गौशालामा पनि आज विहानैदेखि गाईलाई लक्ष्मीको प्रतीक र गौमाताको रुपमा पूजा भइरहेको छ ।

आज गौशालामा गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन पशुपतिस्थित वेद विद्याश्रममा रहेका बटुकहरूले पनि विधिपूर्वक गाई पूजा गरेका छन् । अरू वर्ष लक्ष्मीपूजाकै दिन गाई पूजा गर्ने चलन भए पनि तिथिअनुसार यो साल आइतबार नै लक्ष्मीपूजा सम्पन्न गरिएको छ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । पूजाआज सकिएपछि गाई चराउन निकाल्ने मार्गमा तोरण तारेर चरणमा लैजाने चलन छ । कसैकसैले यस दिन गाईलाई बालीमा हुलेर चराउने गर्छन् ।

फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्