Logo

भूकम्पका ४८ घाइते निको भएर घर फर्किए



बाँके, कार्तिक २८ । जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् ।

अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

‘सबैजसो बिरामी निको भएर घर फर्किसक्नुभएको छ, अव भेरीमा शल्यक्रिया गरिएका छ बिरामीमात्रै हुनुहुन्छ’, उनले भने, ‘उहाँहरुको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको ‘पेइङ वार्ड’मा राखेर उपचार भइरहेको छ ।’

भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो । बिरामी निको भएर घर फर्किएपछि उक्त वार्ड खाली गराइएको स्रोत व्यक्ति श्रेष्ठले बताए ।

भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइएका ५८ जनामध्ये यसअघि ४८ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसकेका हुन् । तीन जनालाई काठमाडौं पठाइएको थियो । एकजनाको भने अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भएको छ भने तीन सय ४६ घाइते भएका छन्। भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको थियो । -रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot