Logo

नेपाल संवत् नेवार समुदायको मात्रै होइन, हरेक नेपालीको गर्व र आत्मसम्मानसँग जोडिएको छ : प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)



काठमाडौं, कार्तिक २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को निर्णय र सरकारी दस्तावेजमा विसंसँगै ‘नेपाल संवत् ‘पनि उल्लेख गर्नुपर्ने निर्णय गरेपछि सबैलाई बधाई दिएका छन् ।

नेपाल संवत् ११४४ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सोेमबार बसेको मन्त्रीपरिषद्को बैठकले सरकारी दस्तावेजमा विसंसँगै नेपाल संवत् पनि उल्लेख गर्ने निर्णयले हाम्रो स्वतन्त्रता, समानता, सामाजिक न्यायसहितको राष्ट्रिय स्वाधीनता र हाम्रो आत्मसम्मानलाई फेरि एउटा उचाइमा उठाएकाले हामी सबै नेपालीले गर्व गर्नुपर्ने बताए।

प्रधानमन्त्रीले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिको नारामा केन्द्रित रही उच्च प्राथमिकता साथ काम गर्दै आएको बताउँदै शङ्खधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति भएको जनाए ।

उनले भने, “सामाजिक न्याय भन्दै गर्दा हाम्रो इतिहासमा गर्व गर्न लायक शङ्खधर साख्वालाई नसम्झिरहन सकिँदैन, उहाँलाई हामीले राष्ट्रिय विभूति पनि घोषणा गरिसकेका छौँ । उहाँले तत्कालीन समयमा ऋणमोचन गर्ने कामको नेतृत्व गरेर इतिहासमा कीर्तिमान कायम गर्ने काम गर्नुभयो । उहाँको त्यो अभियानसँगै नेपाल संवत् जोडिएको छ ।”

प्रधानमन्त्रीले दाहालले विगतमा नेपाल संवत् ‘नेवार समुदायको मात्रै हो’ भन्ने गलत भ्रम  रहेको  चर्चा गर्दै विगतका यस्ता भ्रमलाई अन्त्य गर्नुपर्ने बताए ।

फोटोः मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्