Logo

टिकटक बन्द गरेर तानाशाही प्रेत सलबलाएको छ : सूर्य थापा



काठमाडौं, २८ कात्तिक । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले टिकटक बन्द गर्ने निर्णयमा सरकार टिक्न नसक्ने बताएका छन् ।
‘जान्नेलाइ श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड भन्या यही हो । मुलुकमा तानाशाही राज गर्ने भनेर सरकारले टिकटक बन्द गरेको हो । राजा ज्ञानेन्द्रले सबै सञ्चार माध्यम बन्द गराएर निरंकुशता लादेका होइनन् ? टिकटक बन्द गरेर हाइसन्चो र सुखमा सरकार चलाउने कुरा सोच्नु दिवास्वप्न हो । यो निर्णयमा सरकार टिक्दै टिक्दैन । यसमा सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रता आकर्षित हुन्छ । अदालतले बोल्न सक्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
नेता थापाले टिकटक बन्द गर्ने निर्णयमा जनताको समर्थन नरहेको पनि बताए । उनले भने, ‘यसलाई कुनै जनताले समर्थन गरेको छैन । आसेपासे चासेहरुले गरेका होलान् । सबै स्तब्ध र मर्माहत भएका छन् । हामी कुन युगको शासनमा छौं ? यो मुलुकमा तानाशाही प्रेत सलबलाएको हो ।’
टिकटक बन्द गर्ने निर्णयमा केपी ओलीले समर्थन गर्नुभएको छ, तपाईंले किन विरोध गर्नुभो भन्ने पत्रकार धमलाको प्रश्नमा थापाले थपे, ‘केपी शर्मा ओलीज्यूले यसको समर्थन गर्नुभएको छ र ? यसको मलाई जानकारी छैन । उहाँ आफैंले प्रधानमन्त्री हुँदा टिकटक आईडी खोल्नुभएको थियो । टिकटक प्रयोग गर्ने लोकप्रिय नेताहरुमध्ये उहाँ एक जना हो । मैले को कोले विरोध गरेका छन् वा समर्थन गरेका छन् भनेर दृष्टिकोण बनाउने होइन नि ।’
सांसद थापाले चीन र अमेरिकाले चिनियाँ एप्स भनेर प्रतिबन्ध लगाएको देखेर नेपालले पनि त्यसरी नै बन्द गरेको हो भन्न प्रश्न गरे । उनले भने, ‘टिकटक जनस्तरमा अत्यन्त लोकप्रिय र वैकल्पिक मनोरञ्जनको प्रभावकारी माध्यम हो । यसमा आएको कन्टेन्ट टिकटकको समस्या होइन प्रयोगकर्ताको समस्या हो । यसलाई नियमन गर्ने कानुनी प्रबन्धको बाटो हामीसँग छ । नेपाल न चीनजस्तो बन्द समाज होइन, न भारतजस्तो ।’
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा तत्कालीन सञ्चारमन्त्ती गोकुल बास्कोटाले चारवटा सञ्चार सम्बन्धी विधेयक ल्याएको पनि उनले स्मरण गरे । थापाले भने, ‘हो, हामीले नियमन गर्ने कानुन ल्याउन खोजेको हो, बन्द गर्न ल्याएको होइन । टिकटकलगायत सोसल प्लेटफर्ममा चरित्रहत्या, छाडा, अश्लीलता र अराजकताको नियमन गर्न ल्याएको हो । हामी पहिलेदेखि नै कानुनी व्यवस्था गर्नुपर्छ भन्ने मान्यताको मानिस हौं ।’



प्रतिक्रिया दिनुहोस्