Logo

टिकटक बन्द नगराउने इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज गर्छौं : प्राधिकरण अध्यक्ष



काठमाडौं, २८ कात्तिक । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आजसम्म सबै इन्टरनेट सेवाप्रदायकले टिकटक बन्द गरिसक्ने बताएका छन् ।
‘सरकारको निर्णयपछि सेवाप्रदायकलाई इमेल लेखेर फलोअप गरिरहेका छौं । बिदाको दिन अल अफ सडन भएकाले ८० प्रतिशत हिजै बन्द भइसक्यो । नेपाल टेलिकम र एनसेलले गरिसके । बाँकीले आजसम्म गर्छन्,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
अध्यक्ष खनालले टिकटक बन्द नगराउने इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेजीसम्मको कारबाही गर्ने चेतावनी पनि दिए । उनले थपे, ‘यसमा मेरो समर्थन र विरोध भन्ने कुरै भएन । नेपाल सरकारको निर्णय पालना गर्नु, गराउनु मेरो कर्तव्य हो । मन्त्रिपरिषद्भन्दा ठूलो संस्था के हुन्छ र देशमा ? सरकारको निर्णय मानेनन् भने हामी कारबाही गर्छौं । प्रहरीको पनि सहयोग लिन्छौं । दूरसञ्चार ऐन अनुसार अनुमतिपत्र खारेजीसम्मको कारबाही हुन्छ । त्यहाँसम्म त कुन कम्पनी पुग्ला र ?’
सामाजिक सञ्जाल अनुगमन निर्देशिका कार्यान्वयनको जिम्मा प्राधिकरण अन्तर्गत नरहेको पनि उनले स्पष्ट पारे । खनालले टेरामेक्स कार्यान्वयनमा लानैपर्ने बाध्यता रहेको पनि बताए । उनले भने, ‘नयाँ नयाँ प्रविधि नदिनु भनेको लठ्ठी लिएर लडाइँमा जानु भनेको जस्तै हो । अनुगमनका लागि कुनै न कुनै प्रविधि चाहियो नि ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot