काठमाडौं, २८ कात्तिक । संस्कृति, पर्यटन एवंं नागरिक उड्डयन मन्त्री सुदन किरातीले टिकटक बन्द गर्ने सरकारी निर्णयमा बहुसंख्यक जनताको समर्थन रहेको दाबी गरेका छन् ।
‘टिकटक बन्द गराउने निर्णयमा बहुसंख्यक जनताको समर्थन छ । टिकटकमा आएका कन्टेन्टबाट अतुलनीय सामाजिक क्षति भएकाले केही समयका लागि बन्द गर्ने कुरा जायज छ । नियमन गर्न सकिने स्थिति थिएन । बन्द गरेकै ठीक भयो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
टिकटकबाट सरकार नआत्तिएको पनि किरातीले बताए । उनले थपे, ‘हो, घाँटीमा पिलो निक्ले घाँटी नै काट्ने होइन । अहिलेको जमाना पिलो आउनै दिनुहुँदैन । टिकटक बन्द गरिएको कुरालाई प्रजातन्त्रसँग जोड्नु हुँदैन । भारत, अमेरिका जस्ता प्रजातान्त्रिक देशमा पनि बन्द गरिएको छ ।’ यसमा सत्तारुढ नेताहरुको पनि सहमति रहेको पनि किरातीले बताए ।
संसदीय निर्वाचन क्षेत्रको रकम पुनर्निर्माणमा खर्च गर्ने सरकारको निर्णय विपत्ति मोचनका लागि उचित हुने उनले औंल्याए ।