काठमाडौं, २८ कात्तिक । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा (दीपशिखा) ले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सधैंभरि सरकारका कामकारबाहीविरुद्ध उभिने भूत सवार भएको आरोप लगाएका छन् ।
‘यहाँ व्यवसाय गर्ने कम्पनी नेपालको कानुन अनुसार दर्ता हुनपर्छ । नेपाल सरकारप्रति उत्तरदायी हुनुपर्छ भन्ने कुरा टिकटकले मानेन । नेपाल सरकारले कानुनतः बन्द गरिदियो । विश्वप्रकाश र गगन थापाहरुलाई आफ्नै पार्टीको समर्थन बनेको सरकारका कामकारबाहीविरुद्ध खडा हुने भूत चढेको छ । यो कुनै नयाँ कुरा होइन । युवा, देशभक्त र प्रगतिशील भनिनेहरुलाई यस्तो कुरा गर्न लज्जाबोध हुनुपर्ने हो । देशको संविधान त उहाँहरुले नै बनाएको हो नि,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
नेता सापकोटाले टिकटक बन्द गर्ने सरकारको निर्णयमा ८० प्रतिशत जनता खुसी भएको र एकाध नेताहरुले मात्र विरोध गरेको बताए । उनले भने, ‘यो नयाँ, युवा वा राजनीतिलाई व्यवसाय बनाएका मान्छेका कुरा हुन् । तर यो राजनीति गर्ने विषय नै होइन । टिकटकलाई नियमनमा ल्याउने उपाय यही मात्र हो । उनीहरुले नियमन भन्ने शब्द जानेर, बोलेर मात्र हुन्छ र ? नेपाली कांग्रेसका साथीहरु त सरकारमै हुनुहुन्छ नि । उहाँहरुले सरकारले गरेका निर्णयको स्वागत गर्नुपर्छ, विरोध गर्नुहुँदैन । जनताको मतको कुरा गर्ने हो भने ८० प्रतिशत मानिस खुसी छन् । २० एमाले, कांग्रेस, माओवादीका नेता बेखुसी होलान् । टिकटकका् विकल्पमा हामीसँग दर्जनौ सामाजिक सञ्जाल छन् । टिकटक नभएर केही पनि बिग्रँदैन । यसमा राष्ट्रिय सहमति पनि चाहिँदैन । विरोध भएर केही फरक पर्दैन ।’
टिकटक नेपालको कानुन मातहतमा आए प्रतिबन्ध फुकुवा हुने पनि सापकोटाले औंल्याए । उनले भने, ‘यसमा सरकार ब्याक हुने वा नहुने भन्ने कुरा होइन । कानुन मातहत आयो भने आजैबाट टिकटक फेरि चल्छ । तर नेपालमा चल्न नेपालको काुनन मान्नुपर्छ । टिकटकबाट एक हजारभन्दा बढी आपराधिक काम भएको उजुरी प्रहरीमा छ । सामाजिक अपराध नहोस् भनेर सरकारले टिकटक बन्द गर्दा कोकोहोलो मच्चाउनु आवश्यक छैन । कानुनको मातहत नआएपछि त्यसलाई बन्द गराइदिनु नेपाल सरकारको कर्तव्य हो ।’ सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको पनि उनले बताए ।