काठमाडौं, २८ कार्तिक । जलनका विरामीलाई बर्न अस्पताल किर्तीपुर रिफर गर्न आनाकानी गरेपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बि एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई फोन गरेका छन् ।
उनले जलनका विरामीको उपचारको लागि काठमाडौं लैजाने भनेर अनुरोध गर्दा प्रसाईंले उपचारमा लागेको खर्च तिरेपछिमात्रै रिफर गरिने जवाफ दिएको उच्च स्रोतको दाबी छ । विरामीको अवस्थालाई मध्यनजर गर्दै मानवीयता देखाउन मुख्यमन्त्री कार्कीले प्रसाईंलाई आग्रह गरेका थिए । तर, प्रसाईंले पहिले पैसा तिर्न ढिपी कसेपछि मुख्यमन्त्री कार्कीले प्रहरी प्रशासन लगाएर भएपनि विरामी लैजाने र थुनाईदिने चेतावनी दिएका थिए ।
मोरङको उर्लाबारीमा आगलागीमा परी घाइते भएकाहरुको प्रसाईंको अस्पतालमा उपचार भैरहेको छ । यसरी उपचार गराउनेहरुमा उर्लाबारी–७ का सुमन सेन्दाङ, लालबहादुर लिम्बू, कविराज दाहाल, तपन पण्डित, विक्रम साह, लिम्बू, रुकुमबहादुर कार्की, नवीन थापा, हेमकुमार दाहाल र करण संग्रौला छन् । उनीहरुलाई काठमाडौंको किर्तीपुरमा रहेको बर्न अस्पतालमा थप उपचारको लागि ल्याउनेगरि मुख्यमन्त्री कार्कीको पहल छ ।