Logo

जनता सतर्क नभए राजतन्त्र फर्कने खतरा छ : चित्रबहादुर केसी



काठमाडौं, ३० कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले नेपाली जनता सतर्क र सचेत नभए २०६२–६३ को जनआन्दोलनका उपलब्धि समाप्त हुन खतरा रहेको औंल्याएका छन् ।
‘लोकतन्त्र र गणतन्त्र ल्याउनेहरुको राम्रो व्यवहार भएन । जनताले दुःख पाइरहेका छन् । जनता आक्रोशित छन् । यसको फाइदा प्रतिगामीहरुले लिन सक्छन् । जनताको समस्या समयमै सम्बोधन गर्न सकिएन भने त्यो स्थितिलाई असम्भव भन्नै मिल्दैन । राजतन्त्र फर्कने खतरा छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
नेता केसीले राजतन्त्र आएर जनताको समस्या समाधान नहुने स्थिति नभएको पनि दाबी गरे । उनले भने, ‘अहिले टिकटक बन्द भयो भनेर विरोध भइरहेको छ । लोकतन्त्र छ र पो विरोध गर्न पाउनुभएको छ । गणतन्त्र सिध्याएर हुकुमी, पारिवारिक र फाँसी शासन ल्याएर जनतालाई सुख हुन्छ त ? जनताको प्रतिनिधिले नसकेको कुरा राजाले गर्न सक्छन् ? पक्कै पनि सक्दैनन् ।’
गणतन्त्रमा संघीयताको नाममा जनतालाई अनावश्यक रुपमा प्रदेशको बोझ बोकाइएको आरोप पनि उनले लगाइए । केसीले भने, ‘काम न काजको प्रदेश सरकार चाहिँदै चाहिँदैन । सात-आठ वर्षको अवधिमा स्पष्ट भइहाल्यो नि । जनता संघीयता र प्रदेशबाट पनि चिढिएका छन् । यसको औचित्य छैन । यसलाई जबर्जस्ती बोकाएको हो । बरु सिंहदरबारको खराबी हटाऔं र स्थानीय तहको अधिकार थपौं । एकात्मक व्यवस्थाको विकल्प संघीयता होइन ।’
समाजमा भाँडभैलो ल्याएकाले टिकटक बन्द गर्नु उचित भएको नेता केसीको तर्क छ । उनले भने, ‘सरकारको निर्णयमा सबैले समर्थन वा विरोध गर्छन् भन्ने कुरा होइन । सती प्रथा, दास प्रथा जस्ता गलत परम्परा बन्द गर्दा पनि त विरोध आएको थियो नि । टिकटक चलाएर आवारा, लफंगाले जे पनि भन्ने ? लोकतन्त्र भनेको जे पनि बोल्ने, जे पनि गर्ने भन्ने त होइन नि । यसका पनि सीमा र मर्यादा छन् । यसबाट कसैको व्यक्तिगत महत्तवाकांक्षा धक्का लागेको होला, पञ्चायती झल्को लागेको होला । सरकारको निर्णयमा हाम्रो पार्टीको सहमति छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot