Logo

टिकटक बन्द गर्ने निर्णयबाट सरकार ‘ब्याक’ हुन मिल्दैन : जसपा नेता



काठमाडौं, ३० कात्तिक । जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेता एवं प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।
‘टिकटकमा फेक आइडी बनाएर अर्काको भिडियो जोडेर चरित्रहत्या गर्ने, अरुको धर्म, संस्कृति, भेषभूषाको बदनाम गर्ने काम भएको थियो । टिकटक स्टार बन्ने लोभमा कलिलो उमेरका युवायुवती स्कुल–कलेज जानै छोडेका थिए । टिकटक बनाउने चक्करमा दिनभरि भौंतारिने गर्दा कतिपयको ज्यानै गयो । यो त पहिले नै बन्द गर्नुपर्ने अवस्था थियो । अलिकति ढिलो भयो । यो समयसापेक्ष, जायज र ऐतिहासिक निर्णयका निम्ति म प्रधानमन्त्री प्रचण्डलाई विशेष धन्यवाद दिन चाहन्छु,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
नेता यादवले टिकटक बन्द गर्ने निर्णयले टिकटकर नेताहरु विचलित भएको आरोप पनि लगाए । उनले भने, ‘जो सस्तो लोकप्रियता बेचेर रातारात नेता बन्नुभएको छ, उहाँहरु बेचैन हुनुहन्छ । आफ्नो राजनीतिक खुद्रा पसल बन्द होला भनेर चिन्तित हुनुहुन्छ । उहाँहरु टिकटक विशेषज्ञ हो ? टिकटकमै पढाइ गर्नुभएको हो ? जनतामा कुनै लगानी छैन । सरकारको यो निर्णय आम नागरिकको हितमा छ । यसले नागरिकलाई बचाएको छ ।’
टिकटकको माध्यमबाट नेपालीको गोपनीयता र लाखौं रुपियाँ चीनतिर गएको पनि उनले बताए । उनले भने, ‘भारत, पाकिस्तान, अमेरिका, बेलायतमा टिकटक किन बन्द भयो ? डाटा चोरी हुने र सुरक्षामा चुनौती दिने भएर न हो । यो प्रचण्ड सरकारको साहसिक निर्णय हो । सरकार यस्तो निर्णयबाट ब्याक हुनै सक्दैन । यो सोह्रै आना जायज छ । यसमा हामीले सरकारलाई साथ दिनुपर्छ ।’ टिकटक बन्द गर्ने सरकारको निर्णयमा पार्टी अध्यक्ष उपेन्द्र यादवको पनि समर्थन रहेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot